काठमाडौं – मन्त्रिपरिषद पुनर्गठन गर्दा प्रधानमन्त्री केपी ओलीले सल्लाह नगरेको भन्दै संघीय समाजवादी पार्टीले सरकार छाड्ने चेतावनी दिएको छ ।
बुधबारको मन्त्रिमण्डल हेरफेरका क्रममा प्रधानमन्त्री ओलीले भारत भ्रमणमा रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कानूनमा ल्याएर आफ्ना विश्वासपात्र भानुभक्त ढकाललाई कानूनमन्त्रीबाट स्वास्थ्यमा पठाएका थिए । स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र चौधरीलाई पदमुक्त गरिएको छ ।
चौधरी समाजवादी पार्टीकै सांसद हुन् । ‘हामीसँग सल्लाह नै नगरी एकतर्फी रुपमा मन्त्रिपरिषद हेरफेर गरियो’, पार्टीका नेता राजेन्द्र श्रेष्ठले भने, ‘अध्यक्ष ९उपेन्द्र० फर्केपछि त्यसबारे औपचारिक निर्णय गर्छौं ।’
उनले अपमानित भएर आफ्नो दल सरकारमा नबस्ने बताए । यसअघि समाजवादीको केन्द्रीय समिति बैठकमा पूर्व संघीय समाजवादी र नयाँ शक्तिका नेताहरुले सरकार छाड्न यादवलाई दबाब दिएका थिए । तर, पार्टीभित्र सुविधाजनक बहुमतमा रहेका यादवले सरकार नछाड्ने निर्णय गराएका थिए ।