काठमाडौं – जाडो मौसम आएसँगै जुम्लामा न्यूनतम तापक्रम माइनस २ दशमलव ५ डिग्रीमा झरेको छ ।
स्थानीय वायुको प्रभावले आज राति देशभर आंशिकदेखि सामान्य बदली रही पूर्वी पहाडी भूभागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्थानीय र पश्चिमी वायु सक्रिय भएकाले हाल देशको धेरै जसो स्थानमा मौसम बदली भएको मौसमविद्ले जनाएको छ । मौसमविद्का अनुसार चिसो निरन्तर बढ्दो क्रममा रहेको छ । यस वर्ष उपत्यकाको न्यूनतम तापक्रम शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।
बिहीबार देशको पहाडी भूभागसहित पश्चिमी तराई भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव २ डिग्री र अधिकतम तापक्रम २३ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।