काठमाडौं – कृषि विकास बैंक स्वयम्भू शाखाका अधिकृत, शाखा प्रबन्धकसहित आठ जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियार दुरुयोग अनुसन्धान आयोगले कृषि विकास बैंकका ८ कर्मचारीसँग २ अर्ब ७१ करोड ४४ लाख रुपैयाँ बिगो असुल हुनुपर्ने माग दाबी गर्दै भष्ट्राचार मुद्दा दायर गरेको हो।
आयोगले सोमबार विशेष अदालतमा बैंकको स्वयम्भू शाखाका अधिकृत केदारप्रसाद गौतमसहित ८ जनाविरुद्ध सो रकम मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो।
कृषि विकास बैंकमा २०७१ असोजदेखि २०७२ असारसम्मको अवधिमा गैरकानूनी तबरबाट ३३ करोड ९३ लाख रुपैयाँ निकाली बैंकलाई हानी पुर्याएको अख्तियारको आरोपपत्रमा उल्लेख गरेको छ।
तर उनीहरू आठै जनाविरुद्ध जनही ३३ करोड ९३ लाख रुपैयाँ बराबरको बिगो मागदाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको हो।
अनुसन्धान अनुसार शाखा अधिकृत केदारप्रसाद गौतमले झूटा विवरण तथा नक्कली नागरिकता बनाई रेमिटबाट आएको फर्जी कारोबार देखाई जम्मा गरेको र रकम कृषि विकास बैंकका विभिन्न शाखा कार्यालयहरूबाट र अन्य विभिन्न बैंकहरूबाट भुक्तानी लिएको खुलेको छ।