प्रहरीले पर्साबाट ‘प्रहरी निरीक्षक हुँ’ भनी पैसा असुली गर्न खोजेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–५ का २७ वर्षीय दिब्यप्रकाश चतुर्वेदी रहेको प्रहरीले जनाएको छ ।
चतुर्वेदीले जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम ब्रान्चको प्रहरी निरीक्षक हुँ भन्दै मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ बस्ने अनन्त खतिवडालाई डर–धम्की देखाइ रकम माग्ने गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
चतुर्वेदीले डर धम्की देखाइ रकम माग्ने गरेको उजुरी खतिवडाले गरेपछि उनलाई बुधबार पक्राउ गरिएको हो ।
चतुर्वेदी हातहतियार खरखजना कसुरमा २०७५ चैत ३० गते जिल्ला अदालत पर्साको आदेशले १ लाख रुपैयाँ धरौटीमा छुटेको व्यक्ति भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।