हुम्लाको सिमिकोट गाउँपालिका–७ लाक्नामा टिपर दुर्घटनामा घाइते ११ जनालाई सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ ।
अवस्था गम्भीर रहेका घाइतेलाई आज मात्र जिल्ला अस्पताल सिमिकोटबाट सेनाको हेलिकप्टरमार्फत उद्धार गरी नेपालगञ्ज लगिएको हो ।
जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । उनले भने, ‘घाइतेलाई कोहलपुर अस्पताल लगिँदैछ ।’ घाइतेलाई लिन छ वटा एम्बुलेन्स विमानस्थलमा पठाइएको छ ।
लु ४ ख ३२६९ नम्बरको टिपर अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा टिपरमा सवार चार जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा टिपरमा सवार नाम्खा गाउँपालिका–१ हेप्का बस्ने ४६ वर्षीया छिरिङ कर्मा तामाङ, ३५ वर्षीया नरी लामा र खार्पुनाथ गाउँपालिका–१ प्युसा बस्ने १९ वर्षीय बबरजंग शाहीको घटनास्थलमै मृत्यु भएको हो ।
गम्भीर घाइते भएका सिमिकोट गाउँपालिका–६ सिमिकोट का ५८ वर्षीय भक्तबहादुर रोकायाको जिल्ला अस्पताल सिमिकोटमा उपचारको क्रममा मृत्यु भएको थियो ।
दुर्घटनामा घाइते भएका टिपर चालक समेत अन्य १२ जनाको सोही अस्पतालमा उपचार भइरहेको थियो ।