logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सागको ‍ कुम्भमेला आज, सात देशका साढे ६ हजारको सहभागिता


अंकुरण खबर
975
Shares

१३ ‍औं दक्षिण एसियाली खेलकुद  (साग) खेलकुदकाे उद्घाटन आज हुने भएकाे छ । राष्ट्रपति विद्यादेवि भण्डारीले आज मध्यान्ह उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ ।

दक्षिण एसियाका सात राष्ट्रको खेलकुद जमघट रहने सोही दक्षिण एसियाली खेलकुद (साग)को १३औँ संस्करण नेपालको काठमाडौँ, पोखरा र जनकपुरमा सुरु हुँदै छ। यस खेलकुद मेला सुरु भएको खुसी साट्न आइतबार साँझ तीन घण्टा १४ मिनेटको उद्घाटन समारोह हुँदै छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्दै १३औँ साग सुरु भएको घोषणा गर्नेछिन्। उद्घाटन समारोह भव्य गर्ने तयारी भइरहेको छ। उद्घाटन समारोहमा १५ हजार कलाकारले विभिन्न प्रस्तुति दिने बताइएको छ। एसियाली खेलकुद नेपालमा तेस्रो पटक आयोजना हुँदै छ। साग खेलकुदमा नेपालको सबभन्दा ठूलो उपलब्धि काठमाडौँमा सन् १९९९ मा सम्पन्न आठौँ साफ हो। सो संस्करणमा नेपालले स्वर्ण पदक मात्र ३१ वटा हासिल गरेको थियो। नेपालले सो समय पदक तालिकामा भारतपछाडि दोस्रो स्थानमा आफूलाई उभ्याएको थियो। पहिलो संस्करणमा नेपालले चार स्वर्ण पदक जितेको थियो।

दक्षिण एसियाली महाद्वीपका राष्ट्रहरूको दृष्टिमा रहने यो खेलकुद मेलालाई राष्ट्रको सम्पन्नता, वैभव र समृद्धि देखाउने अवसरका रूपमा पनि लिइन्छ। सागमा भारतले सबै संस्करणमा अङ्क तालिकामा शीर्ष स्थान बनाउँदै आएको छ। यस पटक पनि भारतले नै अङ्क तालिकामा दबदबा बनाउने अनुमान गरिएको छ। भारत दक्षिण एसियाली क्षेत्रमा खेलकुदमा महाशक्ति राष्ट्र हो। हुन त यसपालि भारतले दक्षिण एसियाली खेलकुदमा त्यति चासो देखाएको छैन। कराँते, फुटबल र क्रिकेटजस्ता खेलमै भारतको सहभागिता छैन। तर यस पटक पनि उसलाई अन्य राष्ट्रले चुनौती दिने अपेक्षा गरिएको छैन। घरेलु टिम नेपाललाई अङ्क तालिकाको दोस्रो स्थानमा रहने आशा गरिएको छ ।

अझ नेपालले घरेलु मैदानमा भएको आठौँ साफपछि दोस्रो स्थान हासिल गर्न सकेको छैन। तर अङ्क तालिकामा दोस्रो स्थानको आशामा नेपालले सागमा सबभन्दा बढी ५९६ खेलाडीलाई समावेश गरेको छ। नेपालपछि सबभन्दा ठूलो टिम श्रीलङ्का रहेको छ । यसैगरी भारतले ४८७, बङ्गलादेशले ४७०, पाकिस्तानले २६६ र माल्दिभ्सले २१६ जना खेलाडी नेपाल पठाएका छन्। खेलाडीको सबभन्दा सानो टोली भुटान ११६ को छ। सागमा खेलाडी, रेफ्री र अफिसियल तथा अन्य प्रतिनिधि गरी पाँच हजारको सहभागिता रहने छ। नेपालले समावेश सबै २८ (बिच भलिबल र थ्री बाई थ्री बास्केटबलसहित) खेलमा प्रतिस्पर्धा गर्ने छन्। राष्ट्रिय टिम तयार समितिका सचिव महेन्द्र राईले ३२४ स्वर्ण, ३२४ रजत र ४८७ कांस्य पदक गरी ११३५ पदकका लागि प्रतिस्पर्धा हुने बताए। सन् २०१६ मा भारतको गुवाहाटी–सिलोङबाट आयोजनाको झण्डा बोकेको नेपाल तीन पटक मिति सारेपछि प्रतियोगिता गर्न तयार भएको हो। यस प्रतियोगिताका लागि नेपालले करिब साढे चार अर्ब रुपियाँ खर्च गरेको छ ।

साग खेलकुदको सुरक्षा व्यवस्थापनका लागि करिब २२ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरी १४ हजार, सशस्त्र प्रहरी छ हजार, विशेष प्रहरी करिब दुई हजार र सेना गरी यतिको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् । पोखरा र जनकपुरमा स्थानीय सुरक्षा निकायबाट थप सुरक्षाकर्मी परिचालन हुने छन् । राष्ट्रिय खेलकुद परिषद्ले हजारौँको सङ्ख्यामा स्वयंसेवक खटाएको छ।