काठमाडौं – १३ औँ दक्षिण एसियाली खेलकुद आइतबारदेखि औपचारिक रुपमा सुरु हुँदैछ ।
केही खेलहरु सुरु भइसकेको भए पनि सागको औपचारिक उद्घाटन आइतबार बेलुका त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने विशेष कार्याक्रमका बिच राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तयारी छ ।
यसलाई लक्षित गरी आइतबार ट्राफिक व्यवस्थापनका लागि विजोर नम्बरका सवारी साधान मात्रै चलाउन पाइने व्यवस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
जोर नम्बर प्लेटका सवारी साधन चलाएको पाइएमा कारवाही गरिने पनि प्रहरीले उल्लेख गरेको छ । विजोर नम्बरकै भए पनि सकेसम्म निजी सवारी साधानलाई मुख्य भन्दा पनि सहायक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।
विदेशी विशिष्ट पाहुना र खेलाडीको आवागमनका कारण हुनसक्ने ट्राफिक चुनौतीलाई ध्यानमा राखेर प्रहरीले विजोर नम्बरका गाडी मात्रै चलाउन भनेको हो ।
सरकारी, अत्यावश्यक सेवा, खेलसँग आबद्ध र सञ्चारकर्मीका लागि भने यो नियम लागु हुने छैन । जथाभावी रुपमा बाटो नकाट्न र हर्न नबजाउन समेत प्रहरीले सर्वसाधारणमा अपिल गरेको छ । सागका लागि प्रहरीले पार्किङ व्यवस्थापनलाई चुस्त बनाएको छ ।
सर्वसाधारणका लागि टुँडिखेल र पत्रकारका लागि नेपाली सेनाको अफिसर्स क्लबमा सवारी पार्किङको व्यवस्था गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमित बाहेक खेलकै लागि ७०० ट्राफिक प्रहरी खटाएको छ ।