logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्डको गृह जिल्ला चितवनका ३ वडामा काँग्रेस बिजयी, नेकपालाई झट्का


अंकुरण खबर
754
Shares

चितवनको भरतपुर महानगरपालिका-१६ र खैरहनी नगरपालिका ४ र ५ मा भएको उपचुनावमा सवै वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

यसअघि भएको चुनावमा भरतपुर -१६ मा तत्कालीन नेकपा एमाले र खैरहनी ४ र ५ मा नेपाली कांग्रेसका वडा अध्यक्ष विजयी भएका थिए । अहिले दुई पार्टी मिलेर बनेको सत्तारुढ दलले तीनमध्ये कम्तीमा दुई वटा वडा जित्ने दाबी गरेको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला एवम् निर्वाचन क्षेत्रमै पर्ने भरतपुर १६ को निर्वाचनमा नेकपा पराजित भएको छ । यसअघि नेकपा एमालेले एक्लै जितेको वडामा अहिले दुई पार्टी मिलेर वनेको नेकपाका उम्मेदवार नै पराजित हुनुले नेकपामा तरंग पैदा गरेको छ ।

भरतपुर- १६ मा यसअघि नेकपा एमाले एक्लै हुँदा ६४ मतान्तरतले जित हासिल गरेको थियो । अहिले पार्टी एक हुँदा पनि कांग्रेससँग ३०८ मतको अन्तरले पराजित भएको छ । कांग्रेसका उम्मेदवार अमृतराज हमालले ३ हजार १८३ मत प्राप्त गर्दै वडा अध्यक्षमा निर्वाचित भएका छन् । यस्तै उनका प्रतिद्वन्द्वी सत्तारुढ दल नेकपाका उम्मेदवार भक्तराज हमालले २ हजार ८७५ मत प्राप्त गरेका छन् ।

हमाल यसअघिको स्थानीय तहको चुनावमा नेकपा एमालेका चतुरमान गुरुङसँग ६४ मतको अन्तरले पराजित भएका थिए । चतुरमान गुरुङको क्यान्सर रोगका कारण गएको असोजमा निधन भएको थियो ।

भरतपुर -१६ मा आफ्ना उम्मेदवार भक्तराज हमाललाई जिताउन नेकपाका अध्यक्ष प्रचण्ड स्वयं चुनावी सभामा सम्बोधन गर्न चितवन पुगेका थिए ।

भरतपुर १६ मा ८ हजार ४ सय ८१ मतदाता रहेकोमा ६ हजार २ सय ५० मत खसेको थियो ।

नेकपाका नेता एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्रमा पनि नेकपा पराजित भएको छ । चितवनको खैरहनी नगरपालिका–४ मा नेपाली कांग्रेसका उम्मेदवार देवबहादुर बस्नेतले नेकपाका उम्मेदवार वेदबहादुर अधिकारीलाई पराजित गरेका हुन् । बस्नेतले १ हजार १ सय ३८ मत प्राप्त गरेकमा थिए भने अधिकारीले ९८६ मत प्राप्त गरे ।

२ हजार ६ सय ९२ मतदाता रहेको यस वडामा २ हजार १ सय ७२ मत खसेको थियो । यस वडामा यसअघिको चुनावमा नेपाली कांग्रेस नै विजयी भएको थियो ।

यसैगरी खैरहनी-५ मा नेपाली कांग्रेसकी प्रतिमा कार्की (बस्नेत) विजयी भएकी थिइन् । कार्कीले ८ सय ४२ प्राप्त गरकी थिइन् । भने नेकपाका पुननारायण प्रधानले ७ सय ५६ मत प्राप्त गरेका थिए । २ हजार १ सय ११ मतदाता रहेको यस वडामा १ हजार ६ सय ७० मत खसेको थियो ।