विद्यार्थीको प्रदर्शन नियन्त्रण बाहिर गएपछि कोहलपुरमा कर्फ्यू लागेको छ ।
आइतबार बिहान ट्रकको ठक्करबाट कोलपुर–१० की १२ वर्षीया बालिका प्रकृति चन्दको दुवै खुट्टा चुँडिएका छन् । ट्रकले जानीजानी बालिकाको खुट्टा चुड्याएको भन्दै विद्यार्थीले बिहानैदेखि आन्दोलन थालेका छन् ।
लाठी चार्ज र अस्रु ग्याँस प्रहारपछि पनि आन्दोलन नियन्त्रणमा नआएपछि प्रहरीले कर्फ्यू जारी गरेको हो । कोहलपुरका केन्द्र बनाएर उत्तरतर्फ नौबस्ता, दक्षिणतर्फ पिपरीचोकसम्म, पश्चिमतर्फ किरण खोला र पूर्वतर्फ रोहीनी खोलासम्म लागु हुनेगरी कर्फ्यू लगाइएको निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त भट्टराईले जानकारी दिए ।
विद्यार्थीले ट्रकसमेत जलाएका छन् । यस्तै हवाइ फाइरिङका क्रममा ५ जनालाई गोली लागेको छ । २५ जना विद्यार्थी र १२ जना प्रहरी घाइते भएका छन् ।
गम्भीर बनेकी बालिका चन्दलाई थप उपचारका लागि हेलिकप्टरमा भर्खर काठमाडौं ल्याइएको छ । उनको बी एण्ड बी अस्पतालमा उपचार हुनेछ ।