काठमाडौं – अवैध रुपमा लुकाइछिपाई ल्याउँदै गरेको अमेरिकी डलरसहित एक पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाकिस्तानी नागरिक राहदानी नम्बर एएस ६९७४३८४ वाहक ३८ वर्षीय अघा जेसान हैदर रहेको प्रहरीले जनाएको छ ।
मालिन्डो एयरको उडानद्वारा मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आएका उनलाई अमेरिकी डलर ११ हजार ९ सय ९४ सहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
विमानस्थलको उडानतर्फको आगमन भन्सारमा जाँच गर्ने क्रममा झोलामा लुकाइछिपाई ल्याएको उक्त अमेरिकी डलर फेला पारी प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
उनलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको जनाइएको छ ।