काठमाडौं – पश्चिमी वायुको प्रभावले बिहीबार बिहानैदेखि देशभरको मौसममा बदली आएको छ ।
इरान, अफगानिस्तान, पाकिस्तान, जम्मु-कस्मिर हुँदै पश्चिमी वायु बुधबार साँझ पश्चिम नेपाल प्रवेश गरेको हो। सोही वायुको प्रभावले बिहीबार बिहानैदेखि बादल देखिएको छ भने चिसो बढेको छ ।
देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली साथै मध्य तथा पूर्वी भूभागमा सामान्य बदली रहनेछ । पश्चिम भेगका मध्य तथा पूर्वका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी उच्च पहाडीसहित हिमाली भू-भागमा भारी हिमपात साथै मध्य तथा पूर्वी उच्च पहाडीसहित हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात हुने देखिन्छ ।
यो प्रणाली अझै सशक्त बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने देखिन्छ। बुधबार बाट शुरू भएको यो मौसमी प्रणाली शनिबार सम्ममा अन्त्य हुने देखिन्छ ।