प्रहरी निरीक्षकसहित ३ जनाको ज्यान जाने गरी धनुषामा भएको बम बिष्फोटको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सीतादेवि महरा, ललिता महरा र रामसोभित गाहा छन् । उनीहरु तीनै जना विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता हुन् ।
पक्राउ परेका सीतादेवी विप्लव समूहका प्रदेश नम्बर २ संयोजक, ललिता र रामसोभित केन्द्रीय सदस्य हुन् । ३ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।
शुक्रबार राति बम बिस्फोट हुँदा प्रहरी निरीक्षक अमिरकुमार दाहाल, क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका राजेश्वर साह र उनका छोरा आनन्द साहको मृत्यु भएको थियो ।
विस्फोटमा प्रहरी जवान रिजन महतो, मृतकका अर्का छोरा प्रकाश र छोरी अञ्जली गम्भीर घाइते भएका छन् । घाइतेको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचार भैरहेको धनुषा प्रहरीले जनाएको छ ।