काठमाडौं – नेपाली चलचित्रका पुराना अभिनेता दीपक क्षेत्री सुतेकै अवस्थामा मृत भेटिएका छन । ५८ वर्षिय क्षेत्री शनिबार डिल्लीबजारस्थित आफ्नै निवासमा मृत फेला परेका हुन् ।
भित्रबाट चुकुल लगाएको अवस्थामा शनिबार दिउँसो क्षेत्री मृत भेटिएको महानगरीय प्रहरी वृत्त कमल पोखरीले जानकारी दिएको छ।
शुक्रबार साँझ चलचित्रको रेकर्डिङ गरेर कोठा गएका क्षेत्रीले शनिबार धेरै बेरसम्म पनि ढोका नखोलेपछि उनका छोराले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढोका फुटाएर भित्र जाँदा उनको सुतेकै ठाउँमा मृत्यु भइसकेको थियो ।
क्षेत्रीको शव हाल पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाएको प्रहरी वृत्त कमल पोखरीले जनाएको छ । मृत्युको कारण खुली नसकेको प्रहरीको भनाइ छ।
लामो समयदेखि नेपाली चलचित्रमा सक्रीय रहेका क्षेत्रीले दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका छन्। पछिल्लोपटक उनले अभिनय गरेको चलचित्र ‘छ माया छपक्कै’ सुपरहिट भएको थियो ।
हाल उनकी श्रीमती र छोरी एक अवार्ड कार्यक्रममा सहभागी हुन मलेसियामा रहेका छन् । श्रीमती र छोरी नेपाल फर्किएपछि मात्र क्षेत्रीको अन्त्येष्टि गरिनेछ ।