काठमाडौं – त्रिभुवन विश्वविद्यालयले विभिन्न विषयका लागि प्राध्यापक र सह–प्राध्यापक माग गरेको छ ।
विश्वविद्यालयले विद्यावारिधि गरेका पाँच प्राध्यापक र २६ जना सहप्राध्यापक माग गरेको हो । त्रिविले बिहीबार सूचना जारी गरी अनुसन्धानात्मक विशिष्टता आधारमा यसअन्तर्गतका विभिन्न निकायहरुका लागि ३१ जना प्राध्यापक र सहप्राध्यापक माग गरेको हो ।
माघ १२ गतेसम्म त्रिविको कार्यालयमा किर्तिपुरमा प्राध्यापक पदका लागि ३५ सय रुपैयाँ र सहप्राध्यापक पदका लागि ३२ सय रुपैयाँ राजश्व तिरी आवेदन दिन सकिने छ । माघ १३ देखि माघ १५ गते सम्म भने दोब्बर दस्तुर तिरेर पनि दरखास्त दिन सकिने बताइएको छ ।
सो पदका लागि ५० वर्ष उमेर ननाघेका सम्बन्धित विषयमा स्नातकोत्तर गरी तोकिएको विषयमा विद्यावारीधि उपाधि प्राप्त गरिएको हुनु पर्नेछ ।