logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पत्रपत्रिकामा छापिएका मूख्य खबरहरु


अंकुरण खबर
1.742K
Shares

संसदिय समितिको ‘कठघरा’मा यतायातमन्त्री

पछिल्लो समय सडक दुर्घटनाका कारण जनधनको ठूलो क्षति भएपछि दुर्घटना न्यूनीकरणबारे सडकदेखि सदनसम्म चासो बढेर गएको छ । दिनप्रतिदिन दुर्घटना बढेपछि राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले दुर्घटना न्यूनीकरण गर्ने विषयमा चासो देखाएका छन् ।

प्रतिनिधिसभाअन्तर्गत विकास तथा प्रविधि समितिले शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङसहितलाई बोलाएर दुर्घटना न्यूनीकरणबारे छलफल गरेको छ । छलफलमा दुर्घटना रोक्न सबै पक्षको महत्व रहेको भन्दै मन्त्री नेम्बाङले सवारी दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्न योजना बनाएरै अघि बढेको जानकारी गराए ।
उनले सडक दुर्घटनाप्रति राष्ट्रपति न्यूनीकरणका लागि चासो देखाएको र प्रधानमन्त्रीले दुर्घटना न्युनीकरण गर्न निर्देशन दिएको उल्लेख गर्दै विशेष पहल भइरहेको बताए ।

समितिको बैठकमा बोलाइएका मन्त्री नेम्वाङले सवारी दुर्घटनाजस्तो महत्वपूर्ण विषयलाई त्यति धेरै महत्व भने दिएनन् । संक्षिप्त रूपमा आफ्नो कुरा राखेर उनी राजदूतलाई भेट्न छ भन्दै निस्किएका थिए ।

आफ्नो कुरा राख्ने क्रममा उनले गृह मन्त्रलाय, भौतिक मन्त्रालयलगायत सरोकारवाला निकायहरूसँग गहन छलफल गरेर सवारी दुर्घटना न्यूनीकरण र रोकथामका लागि प्रतिवेदन तयार गरिएको बताएका थिए ।

उनले दुर्घटना कम गर्न सरकारले नीतिगत रूपमा के गर्नु पर्दछ अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा त्यससम्बन्धी कानुन, नियमावली र विधेयकका रूपमा अघि बढाउनेतर्फ मन्त्रालय लागेको बताएका थिए ।

मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सडक दुर्घटना न्यूनीकरण गर्न मन्त्रालय एक्लैले नसक्ने बताएका छन् । कार्कीले सडकको क्षेत्रमा मन्त्रालयसँगै, प्रदेश सरकार तथा स्थानीय सरकारले समेत काम गरिरहेकाले सडक दुर्घटना न्यूनीकरणका लागि सबै पक्षको समन्वय आवश्यक रहेको बताए ।

उनले देशभर ८० हजार किलोमिटरभन्दा बढी सडक रहेकोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत १२ हजार किलोमिटर सडक रहेकाले मन्त्रालय एक्लैले सडक दुर्घटना कम गर्न नसक्ने बताए ।

उनले पछिल्लो समय सडकका कारणले भन्दा पनि मानवीय र यान्त्रिक गडबडीका कारण दुर्घटना हुने गरेको बताए । त्यसको नियन्त्रण गर्ने काम सरकारको भएको र सबै तहका सरकारबीच समन्वय हुन आवश्यक रहेको बताएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भीम ढ्कालले सडकको क्षमताभन्दा धेरै सवारीसाधन सञ्चालनमा आउँदा दुर्घटना बढेको बताएका छन् । राजधानीभित्रको सडकबिना इन्जिनियरिङ निर्माण गरिएको तथा सडक अतिक्रमण हुने र कतिपय सडकको अवस्था जीर्ण भएकोले पनि दुर्घटना भएको बताए ।

नेपालमा सडक दुर्घटना प्रत्येक वर्ष बढ्दै गएको छ । तथ्यांकअनुसार आर्थिक वर्ष २०७४÷७५ मा देशभर १० हजार ९ सय ६५ वटा दुर्घटना भएको र २ हजार ५ सय ४१ जनाको मृत्यु भएको छ ।

आर्थिक वर्ष २०७५७६ मा सडक दुर्घटनाको संख्या बढेर १३ हजार ३ सय ६६ पुगेको छ भने दुर्घटनामा मृत्यु हुनेको संख्या २ हजार ७ सय ८९ पुगेको छ । त्यस्तै, चालू आर्थिक वर्षको मंसिर १७ गते सम्म ६ हजार ९ सय १२ दुर्घटना भएको र ९ सय ३१ जनाको मृत्यु भएको छ ।

‘एमसिसी अस्वीकार गर्न सकिन्छ’ : पुष्पकमल दाहाल

सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले इन्डो प्यासिफिक रणनीतिअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालको हितमा नहुने देखिए अस्वीकार गर्ने बताएका छन् । नेकपा संसदीय दलको बैठकमा शुक्रबार अध्यक्ष दाहालले यसबारे स्थायी कमिटीको बैठकमा छलफल भइरहेको जानकारी दिँदै एमसिसी अमेरिकी रक्षा नीतिअन्तर्गत भए अस्वीकार गरिने बताए ।

दाहालले बाहिर हल्ला गरेजस्तो एमसिसी इन्डो प्यासिफिक लक्षित हो भन्ने भयो भने अस्वीकार गर्ने बताएका हुन् । ‘शान्ति र विकासका लागि हो भने एमसिसी अघि बढ्छ होइन, अमेरिकी रक्षा नीतिअन्तर्गतको परियोजना हो भने यसलाई अस्वीकार गर्न सकिन्छ’, उनले भने, ‘यसबारे पार्टीको स्थायी कमिटीले निर्णय गरेपछि संसदीय दलमार्फत जानकारी गराइनेछ।’

गत आइतबारदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा नेताहरुले एमसिसीबारे प्रश्न उठाएका छन् । इन्डो प्यासिफिक रणनीतिको अंग भए एमसिसी स्वीकार्य नहुने र नभए पनि संसद्मा विचाराधीन सम्झौतामा थुप्रै सुधार गर्नुपर्ने बताएका छन् । पार्टी नेताहरुले भीम रावल, हरिबोल गजुरेल, अग्नि सापकोटा, घनश्याम भुसाल, योगेश भट्टराई, रघुजी पन्त, जनार्दन शर्मा, देव गुरुङलगायतका नेताहरुले यसको विरोध गरेका थिए ।

उनीहरुले सो परियोजनामा भएका गलत सम्झौता खारेज गरेर मात्रै लागू गर्न सुझाव दिएका छन्। स्थायी कमिटी र संसदीय दल दुवै बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने एमसिसी, इन्डो प्यासिफिकको अंग नभएको बताएका थिए।

‘लेनदेन’ निहुँमा बालबालिका अपहरण

सामाखुसी बस्ने सीता (नाम परिवर्तन) दुई छोरी र एक छोरालाई कोठामा छाडेर ससुराको श्राद्ध गर्न शनिबार पोखरा हिँडिन्। आइतबार, सोमबार र मंगलबार बिहानसम्म छोराछोरीसँग उनको फोनमा राम्रै कुराकानी भयो । तर चिनजानकै मान्छेले मंगलबार अपहरणकारीको शैलीमा फोन गर्दै उनलाई भने, ‘तपाईंका बच्चा हाम्रो नियन्त्रणमा छन्। हाम्रो पैसा दिने भए बच्चा फर्काउछौं, नत्र फर्काउँदैनौं।’

सीतालाई फोन गर्ने व्यक्ति वानेश्वरका २४ वर्षीय आशिष सिँजापति थिए। उनी समयसमयमा सीताको कोठामा आउँथे, सीतालाई दिदी भन्थे, छोराछोरीलाई भान्जाभान्जी। आफूले चिनेको व्यक्तिले फोन गरेर त्यसो भन्दा सीतालाई ठट्टाजस्तै लाग्यो, साँचो होला भन्ने कल्पनासमेत भएन। बुधबार उनी पोखराबाट सामाखुसी फर्किन्।

कोठामा पुग्दा छोराछोरी देखिएनन्। कोठाको ढोकामा चुकुलमात्रै लगाइएको थियो। आफू नभएको बेला छोराछोरीसँग कुराकानी गर्न उनले एउटा मोबाइल छाडेर गएकी थिइन्। कोठामा कोही नदेखेपछि उनले फोन गरिन्।

मोबाइल अफ थियो। फेसबुक खोलिन्, छोरीको आइडीबाट ‘मामाले नचिनेको ठाउँमा ल्याएर राख्नुभएको छ’ भन्ने म्यासेज आएको रहेछ। त्यसपछि उनलाई छटपटी भयो, अत्तालिँदै महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी होबिन्द्र बोगटीलाई फोन गरिन् र छोराछोरी हराएको जानकारी गराइन् ।

आन्तरिक कलहमै कांग्रेस, सहमति नजुट्दा बैठक फेरि सर्यो

नेपाल विद्यार्थी संघ, तरुण दल र पार्टीका रिक्त विभाग गठनका विषयमा सहमति नजुट्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फेरि सरेको छ । गत २६ मंसिरबाट सुरु बैठकमा नेविसंघ, तरुण दल र पार्टीका रिक्त विभाग गठनका विषयमा संस्थापन पक्ष र इतर पक्षबीच सहमति नजुट्दा पटकपटक सर्दै आएको बैठक पुनः १० पुसमा बस्ने गरी सरेको हो ।

सभापति शेरबहादुर देउवाले पार्टीका रिक्त विभागसहित नेतृत्वविहीन रहेको नेविसंघ र म्याद गुजारेको तरुण दल गठन गर्न भन्दै २६ मंसिरबाट केन्द्रीय समिति बोलाएका थिए । बैठकमार्फत सभापति देउवाले पार्टीका रिक्त विभागका लागि प्रस्तावसमेत गरिसकेका छन् ।

सो प्रस्तावमा असहमति राख्दै कांग्रेसभित्रको रामचन्द्र पौडेल समूहले बैठकमार्फत १४औं महाधिवेशनको एजेन्डा ल्याउनुपर्ने अडान लिँदै आएको थियो । पौडेल समूह त्यसयता निरन्तर बैठक बहिष्कारमा छ । महाधिवेशनको एजेन्डामा नै विवाद रहँदै आइरहेका बेला पछिल्लो समय दुवै समूहबीच नेविसंघ, तरुण दल र विभाग गठन गर्दा कसरी गर्ने र भाग कति लाग्ने भन्नेमा समेत विवाद बढेको छ ।

कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले सहमतिका लागि निरन्तर प्रयास भइरहेकाले सकेसम्म सहमतिबाटै सबै विषयमा निर्णय गर्न बैठक सारिएको बताए । ‘सहमतिको प्रयास निरन्तर भइरहेको छ । सकेसम्म सहमतिबाट अघि बढौं भन्नेमा सभापति लागिरहनुभएको छ तर साथीहरूबाट एकपछि अर्को समस्या झिक्ने काम हुँदा बैठक लम्बियो,’ सहमहामन्त्री महतले भने ।

सभापति देउवा समूह नेविसंघको नयाँ कार्यसमिति ल्याउँदा तत्कालका लागि ३२ वर्षे उमेरहद लागू नगरी ल्याउने पक्षमा छ । तर, इतर पक्ष त्यसको विरोधमा छ । यस्तै, संस्थापन पक्ष पदाधिकारीको संख्या बढाउने पक्षमा छ भने इतर पक्ष त्यसको विरुद्धमा उभिँदै आइरहेको छ ।

यसैगरी, तरुण दलमा समेत संस्थापन पक्ष वर्तमान नेतृत्वलाई नै म्याद थप गर्ने पक्षमा छ भने इतर पक्ष महाधिवेशनका लागि तरुण दलको विधानअनुसारको पूरा कमिटी बनाउनुपर्ने अडानमा छ ।

नुक्लिपुर खेल मैदान अलपत्र

संरक्षण हुन नसक्दा खेलकुदका लागि छुट्याइएको २२ बिघा क्षेत्रफलको रंगशाला गौचरनमा परिणत भएको छ। तत्कालीन टीकापुर विकास समितिले २०६६ सालमा नगर खेलकुद विकास समितिका नाममा २२ बिघा जग्गा उपलब्ध गराएको थियो ।

टीकापुर नगरपालिका–५ को नुक्लिपुरमा रहेको रंगशालामा खेलकुदका लागि कुनै पूर्वाधार बनेको छैन। सुदूरपश्चिम क्षेत्रमै सुटिङ खेलका लागि प्रशिक्षण भवन निर्माण भए पनि उचित संरक्षण नहुँदा जीर्ण अवस्थामा छ। खेल मैदानबाहिर सामान्य तारबार गरिएको छ। दुईवटा गेट निर्माण भएको रंगशालामा अधिकांश तार चुँडालिएका छन्।

खेल मैदानभित्र स्थानीयवासीले माटो निकाल्ने गरेका कारण खाल्डाखुल्डी छन्। मैदानको बीचमा कतै पानी जमेको भेटिन्छ भने कतै गाईभैंसी चरिरहेका भेटिन्छन्। पर्याप्त मात्रामा जग्गा उपलब्ध भए पनि सम्बन्धित निकायले चासो नदिँदा रंगशालाका लागि छुट्याइएको जग्गा गौचरनमा परिणत भएको हो।

नगर खेलकुद विकास समितिको पहलमा राष्ट्रिय खेलकुद परिषद्ले २०६८ सालमा रंगशालामा स्पोर्टस एकेडेमी निर्माण गर्ने भन्दै नक्सासहितको गुरुयोजना निर्माण गरेको थियो। फुटबल, क्रिकेट, पौडी, पोलोलगायत इन्डोर खेलका लागि नक्सा तयार भए पनि खेलकुदको संरचना निर्माणका लागि बजेट नहुँदा खेलमैदान गौरचनमा परिणत भएको हो।

जहाजमा जुम्लाबाट हुम्ला नुन चामल

हुम्लामा सुर्खेत तथा नेपालगञ्जबाट आयात हुने गरेको नुन तथा चामललगायत अरू खाद्यान्न अब जुम्लाबाट गर्न थालिएको छ । छोटो दूरी भएकाले जुम्लाबाट सीता एयरको जहाजले जुम्ला विमानस्थलबाट हुम्लाका लागि ढुवानी गरिरहेको हो ।

देशको सडक सञ्जालले नछोएको हुम्लाका लागि दैनिक उपभोग्य वस्तु जहाजमै ढुवानी गर्नुको विकल्प छैन । जुम्लामा बाटो सहज भएपछि नेपालगञ्जबाट गाडीमा जुम्ला र जुम्ला विमानस्थलबाट हुम्ला नुन र कहिलेकाहीँ चामल ढुवानी गर्न थालिएको ढुवानीको जिम्मा लिएको हिमाली कार्गो सर्भिसका प्रमुख प्रदीप गौचनले जानकारी दिए ।

आफूले हुम्लाका लागि बर्सेनि एक हजार एक सय २२ क्विन्टल नुन ढुवानी गर्ने जिम्मा लिएको जानकारी दिए । कर्णाली क्षेत्रको हवाई ढुवानीमा लामो समय काम गरिरहेको उक्त कार्गोले भने कहिलेकाहीँ मुगुबाट समेत ढुवानी गर्ने गरेको बताएको छ ।

यसैगरी नुन ढुवानीका लागि जिम्मा लिएको अर्को कङ्ग्री निर्माण सेवाका प्रमुख कलबहादुर लामाले पनि एक हजार एक सय २२ क्विन्टल नुन ढुवानी गर्ने जिम्मा लिएको बताए । जुम्लाबाट हुम्ला छोटो दूरीले धेरै उडान हुने भएकाले सजिलो हुने भएको उनले जानकारी दिए । जुम्लाबाट हुम्ला उडान १५ देखि २० मिनेट लाग्ने गरेको छ ।

जहाज हुम्लामा बस्न नसकेको समयमा जुम्लामा चामल फाल्ने र पछिल्लो दिन जाने गरेको पाइन्छ । नेपाल साल्ट ट्रेनिङमा नुनको मूल्य ९ रुपियाँ भए पनि ढुवानी निःशुल्क गरेर जनतालाई नुन सहुलियतमा दिने गरिएको छ । ढुवानी जहाजबाट गर्दा यसको मूल्य १० गुणा बढी हुन्छ ।

कर्णाली करिडोर सडकले भने हुम्लाको विकासमा ठूलो टेवा पुग्ने भएकाले सडक निर्माणमा संघ र प्रदेश सरकारको प्राथमिकतामा तीव्र गतिमा अगाडि बढेको छ । बिहीबार जुम्ला विमानस्थलमा रहेको चामलसमेत हुम्ला सारिएको छ । प्रतिजहाजमा १३ क्विन्टल नुन ओसार्ने गरिएको सीता एयर जुम्लाका शेरबहादुर मल्लले जानकारी दिए ।