काठमाडौं – अपहरित ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीकी श्रीमतीलाई जङ्गलमा छाडिएको छ भने अध्यक्ष शाही अपहरित नै रहेका छन् ।
आइतबार बिहान अपहरण गरेर लैजाने समूहले शाहीकी श्रीमतीलाई बीच जङ्गलमा छाडेको उनको भनाइ छ । शनिबार राति १२ बजे प्रतिबन्धित विप्लव समूहले शाही र उनकी श्रीमतीलाई अपहरण गरेको हो ।
विप्लव समूहले अपहरण गरेको जानकारी पाएलगत्तै सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ पुगेको छ । गाउँपालिकाको बजेट दुरुपयोग गरेको भन्दै विप्लव कार्यकर्ताले अध्यक्ष शाहीलाई पहिला नै चेतावनी पत्र दिएका थिए । सोही कारण शाहीको अपहरणमा विप्लव समूहको संलग्नताको आशंका गरिएको छ ।