अर्थविद् तथा पूर्वराजदुतहरुले एक स्वरमा अमेरिकी सहयोग एमसीसीबारे कुनै विवाद नगरी संसदबाट अनुमोदन गर्नुपर्ने स्पष्ट पारेका छन् ।
मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द प्रसाद पोखरेल, अमेरिकाका लागि पूर्व नेपाली राजदुत डा. शंकर शर्मा, श्रीलंकाका लागि पूर्व राजदुत प्रा.डा. विश्वम्भर प्याकुरेल लगाएतले एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने बताएका हुन् ।
५० करोड डलर बराबरको उक्त एमसीसी कम्प्याक्ट नेपालकै हितमा रहेकाले यसमा कुनै विवाद ल्याउन नहुने उनीहरुको तर्क थियो । साक्षात्कारमा डा.गोविन्द पोखरेलले कम्प्याक्ट एग्रिमेन्टमा ईण्डो–प्यासिफिक स्ट्राटेजीबारे केहीपनि कुरा उल्लेख नभएको जिकिर गरे । उनले भने,‘शेरबहादुर देउवा प्रधानमन्त्री र ज्ञानेन्द्र बहादुर कार्की अर्थमन्त्री हुँदा कम्प्याक्ट एग्रिमेन्ट भएको हो । त्यतिवेला हामीले नै योजना आयोगमार्फत सचिवालय स्थापना गरेका थियौं ।’ एमसीसी परियोजनाका प्राथमिक कार्यक्रममा ईनर्जी र पूर्वाधार विकास भएकोले नेपालमा ईनर्जी ब्यांकिङको लागि पनि यसले ठूलो भूमिका खेल्ने उनको विश्वास छ ।
त्यस्तै अमेरिकाका लागि पूर्व नेपाली राजदुत तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्माले एमसीसीसँग कुनै पनि राजनीतिक सम्बन्ध नरहेको अमेरिकाले ल्याटिक अमेरिका र एफ्रिकन मुलकुसँगपनि सम्झौता गरेको बताए ।
त्यस्तै श्रीलंकाका लागि पूर्व नेपाली राजदुत प्रा.डा. विश्वम्भर प्याकुरेलले यस्तो परियोजना संसदबाटै अनुमोदन गर्नुपर्छ भनेर नेपालको संविधानले पनि कुनै व्यवस्था नगरेकोले मन्त्रिपरिषदबाटै अनुमोदन गर्दापनि फरक नपर्ने धारणा राखे ।
त्यस्तै अर्थविद् डा. डिल्लीराज खनालले नेपालले सम्झौता गरिसकेकोले अब यसलाई विवाद नगरी संसदबाट अनुमोदन गर्नुपर्ने सुझाव दिए ।