काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय संसद्को चालू हिउँदे अधिवेशनमा शिक्षासम्बन्धी तीन विधेयक ल्याइने बताएका छन् ।
शिक्षा पत्रकार समूहले आज आयोजना गरेको कार्यक्रममा जारी भइसकेका नयाँ शिक्षा नीतिका आधारमा विद्यालय शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा र उच्च शिक्षाका लागि तीन विधेयकको तयारी भएको जानकारी उनले दिए ।
उनले बाहिर टिप्पणी गरिएजस्तो सङ्घीय सरकार र स्थानीय तहबीच शिक्षाको प्रबन्ध र गुणस्तरीय शिक्षाका सन्दर्भमा कुनै टकराव नरहेको जनाउँदै भने, ‘हामी पहिला एकीकृत सङ्घीय शिक्षा ऐनको तयारीमा थियौँ, त्यसका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति भइसहेको थियो तर अहिले तीन अलग अलग विधेयकको आवश्यकता महसुस भएकाले त्यसको मस्यौदा निर्माणमा हामी लागेका छौँ ।’
मन्त्री पोखरेलले देशव्यापी रुपमा शिक्षक दरबन्दी पुनःवितरणको श्वेतपत्र जारी गरिएकाले सोबमोजिम शिक्षकहरु व्यवस्थित हुनुपर्नेमा जोड दिँदै अपुग शिक्षकको पूर्तिका लागि विज्ञापन गरिने बताए ।