काठमाडौं- विराटनगर टाइटन्स पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको उपाधि नजिक पुगेको छ ।
पोखरा रंगशालामा बिहीबार भएको खेलमा बुटवल ब्लास्टर्सलाई २१ रन पराजित गर्दै विराटनगर उपाधि नजिक पुगेको हो । विराटनगरले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको बुटवलले निर्धारित २० ओभरमा अलआउट हुँदै मात्र १ सय ४४ रन बनायो ।
बुटवलका भीम सार्कीले ४४, अफ्ताबूदिन अहमेदले ४३, पुरन बिकेले १५ तथा शिवम सिंहले १४ रन बनाए । बुटवलकै हर्ष टंकले २ विकेट लिए । यस्तै ललित भण्डारी र अविनास बोहराले समान १/१ विकेट लिए ।
विराटनगरका शाहब आलम र पुनित मेहेराले समान ३/३ तथा किशोर महतो, जैद आलम र जितेन्द्र मुखियाले १/१ विकेट लिए । विराटनगरकै सुनिल धमलाले ६१, कप्तान प्रदिप ऐरीले अविजित ३३, जैद आलमले २०, लोकेश बम र पुनित महराले समान १९ रन बनाए ।
अब विराटनगरले उपाधिका लागि पारस खड्का कप्तान रहेको चितवन राइनोजसँग खेल्नेछ । चितवन लिगको शीर्ष स्थानमा रहदै फाइनल पुगिसकेको छ । फाइनल भोलि शनिबार हुनेछ ।