काठमाडौं – बदली तथा वर्षा गराउने मौसमी प्रणालीको प्रभाव नेपालमा नरहेपनि चिसो गराउने प्रणाली भने सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशैभरि केही दिनयता लगातार जाडो बढेको छ । यसको प्रमुख कारण नेपालमाथिबाट जेट स्ट्रिम गइरहनु रहेको मौसमविदले जानकारी दिएका छन् । त्यसकै कारण उत्तर पश्चिमी क्षेत्रबाट नेपाल तर्फ चिसो हावा बहेको छ र देशभरि नै जाडो बढेको छ ।
केही दिनयता देशभर नै तापक्रम कम हुने क्रम छ । आइतबार बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम एक डिग्री सेल्सियस मापन भएकोछ ।
तापक्रम घट्ने या यस्तै रहने क्रम केही दिन जारी रहने मौसमविदले बताएका छन् । देशभरका तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।
यस्तै काठमाडौं उपत्यकासहितका पहाडी क्षेत्रमा पनि कुहिरो लागेको छ । पहाडी क्षेत्रमा घाम लागेसँगै कुहिरो बिस्तारै हट्दै जाने छ । तर तराईका क्षेत्रमा पनि दिनभरजसो नै हुस्सु र कुहिरो कायम रहने सम्भावना रहेको मौसमविदले बताएका छन् ।