चिसो अत्याधिक बढेपछि जङ्गलमा फिरन्ते जीवनयापन गर्ने राउटे समुदायका बालबच्चा बिरामी पर्न थालेका छन् ।
राउटे समुदायका मुखिया सूर्यनारायण शाहीले अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा समस्या देखिएको बताएका छन्। ‘हामी त एकसरो कपडामै हिउँद कटाउँथ्यौँ’, शाहीले भने, ‘चिसो ह्वात्तै बढेपछि बालबालिकालाई निकै समस्या भएको छ।’ चिसोले बालबालिका प्रभावित भएपछि राउटे उत्थान प्रतिष्ठानमार्फत विभिन्न संघसंस्थाले न्यानो कपडा र पौष्टिक आहार उपलब्ध गराएका छन्।
हाल दैलेखको गुराँस गाउँपालिकाको गुराँसे जङ्गल क्षेत्रमा बस्दै आएका राउटे समुदायलाई जकेट, कम्बल, हाइनेक, चामल, पीठो, घिउलगायतका सामग्री वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष सत्यदेवी खड्काले जानकारी दिइन्। राउटेको बस्तीमै पुगेर चार लाख ५० हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको हो। रासस