नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको हो ।
अष्ट्रेलियामा एक लाख ५० हजार हाराहारी नेपाली बसोबास गर्दै आएका छन् । सिधा उडान नहुँदा उनीहरु र नेपाल घुम्न आउने पर्यटक विभिन्न देशका विमानस्थलमा लामो ट्रान्जिटमा परेर आउन–जान बाध्य रहेका छन् ।
सिड्नी विमानस्थलले प्रकाशित गरेको तथ्याङ्कअनुसार यो वर्षमात्र काठमाडौंबाट सिड्नी जाने यात्रुको सङ्ख्या एक लाख २१ हजार २६० पुगिसकेको छ । सिड्नी विमानस्थलसँग सिधा उडान सम्पर्क नभएका देशको विमानस्थलहरुको सबैभन्दा ठूलो सङ्ख्या हो ।
अष्ट्रेलियाको नागरिक उड्डयन सेवा प्रदायक संस्था विगत १२ वर्षदेखि कार्यरत इञ्जिनीयर राजु अधिकारीका अनुसार यो सङ्ख्या दैनिक सिधा उडानका लागि निकै फाइदाजनक देखिन्छ । उनका अनुसार सिधा हवाई सम्पर्क भएमा सिड्नीबाहेकका सहरमा जाने यात्रुहरुलाई पनि यही बाटो प्रयोग गर्ने छन् ।
नेपाल एयरलाइन्सले काठमाडौं र सिड्नीबीच सिधा उडानका लागि सम्भाव्यता अध्ययन गरिएको जनाएको छ । सिड्नी काठमाडौंको दूरी लगभग १० हजार किलोमिटर रहेको छ ।
अगामी जनवरी ७ तारिखमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको भ्रमण हुने समयमा अष्ट्रेलियाका उच्च अधिकारीसँग भेटघाटका लागि पहल आफूले गरिरहेको उनले बताए।