logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अब नेपालमा खर्च गर्ने गुणस्तरीय पर्यटक बढ्छन : मन्त्री भट्टराई


अंकुरण खबर
910
Shares

संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षलाई सबै नेपालीले उत्सवका रुपमा मनाउनुपर्ने बताएका छन् ।

भ्रमण वर्षको तयारीका विषयमा जानकारी दिन काठमाण्डाैमा भएको कार्यक्रममा मन्त्री भट्टराईले सन् २०२० नेपालमा २० लाख पर्यटक आउने वर्ष मात्रै नभएर दिगो पर्यटन विकासको आधार वर्षसमेत भएको बताए । अब नेपालमा पर्यटकको संख्यासँगै खर्च गर्ने गुणस्तरीय पर्यटक पनि बढ्ने मन्त्री भट्टराईको दावी छ ।

मन्त्री भट्टराईले पत्रकार भेटघाटमा गरेको सम्बोधनको पूर्णपाठ 

सञ्चारकर्मी साथीहरु,
१) हामी ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भको पूर्व सन्ध्यामा आज यो पत्रकार सम्मेलन गरिरहेका छौँ । म यहाँहरुलाई हार्दिक स्वागत गर्दछु । तपाईहरु सबैलाई नयाँ वर्ष–२०२० को शुभकामना व्यक्त गर्न चहान्छु । यहाँहरुलाई जानकारी नै छ, ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ यही १ जनवरी २०२० मा काठमाडौंको दशरथ रङ्गशालामा भव्यताका साथ हुँदैछ । ठिक त्यही दिन सातै वटा प्रदेशहरुमा पनि एक साथ ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ हुनेछ । हामीले यसका लागि आवश्यक तयारी पूरा गरेका छौँ ।

यहाँहरुलाई थाहा छ, म गत साउन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा आएँ । त्यसयताका अधिकांश मेरो समय यही ‘नेपाल भ्रमण वर्ष–२०२०’ को तयारीमा खर्चिए । यसबीचमा अनेकौं छलफल र बैठकहरु सम्पन्न गरेका छौँ । करिब एक सय भन्दा बढी संघ, संस्था, सरकारी तथा सरोकारवाला निकायहरुसँग छलफल गरेका गर्‍यौँ । निजी क्षेत्र, गैरसरकारी संस्थाहरु, अन्तराष्ट्रिय क्षेत्र, नेपालस्थित कुटनीतिक नियोग, सामाजिक क्षेत्र, स्वयमसेवी समूह–संगठनलगायतका अनेकौं क्षेत्रहरुसँग हामीले छलफल गर्‍यौँ ।

२) यहाँहरुलाई थाहा छ, सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष–२०२०’ घोषणा गरेको छ । वास्तवमा देशभित्र भएका ती छलफलहरु २० लाख पर्यटक कसरी भित्र्याउने ? केवल त्यसमा मात्रै केन्द्रित थिएन । राष्ट्रिय एकता कायम गरेर यो भ्रमण वर्षलाई राष्ट्रिय उत्सवको रुपमा कसरी मनाउन सकिन्छ ? राष्ट्रिय महाअभियानको रुपमा कसरी लैजान सकिन्छ ? के के गर्दा पर्यटनका लागि राष्ट्रिय मनोविज्ञान तयार हुन्छ ? र, हामीले पर्यटनको क्षेत्रमा राखेका दीर्घकालीन योजना र सपनाहरु कसरी पूरा गर्न सकिन्छ ?

‘समृद्ध नेपाल, सुखी नेपाली’ को हाम्रो राष्ट्रिय आकांक्षा पूरा गर्ने प्रमुख आधार पर्यटनलाई कसरी बनाउन सकिन्छ ? आर्थिक र सामाजिक असमानताहरुको अन्त्य गर्दै राष्ट्रिय पुँजीको बिकास गरेर समतामुलक समाज निर्माणमा पर्यटन क्षेत्रको कस्तो योगदान हुनेछ । हाम्रो ध्यान र छलफल त्यतातिर केन्द्रित थियो । र, त्यसै तर्फ केन्द्रित हुनेछ ।

हाम्रो प्रयास र प्रयत्न सिङ्गो मुलुकलाई उत्सवमय बनाउने हो । हरेक नेपालीहरुलाई यो अभियानमा जागरुक र उद्देलित बनाउने हो । यो अभियानमा मुलुकलाई जुरुक्कै उठाएर विश्व समुदायलाई नेपाल स्थायी शान्ति, स्थिरता, सुशासन र समृद्धिको बाटोमा अघि बढेको सन्देश दिनु हो । नेपाल पर्यटनका लागि संसारकै एक अद्वितीय पर्यटकीय गन्तव्य हो भनेर दुनियाँलाई थाहा दिनु हो । विश्वभरीका लगानीकर्ताहरुलाई नेपाल लगानीको लागि उपयुक्त मुलुक हो भनेर जानकारी दिनु पनि हो ।

३) संख्या त छँदैछ, हामीले त्यो भन्दा बढी विश्व समुदायमा नेपालको बारेमा दिइने सन्देश र देशभित्र पैदा गर्ने जागरण र सचेतनलाई प्रमुख मानेका छौँ । २० लाख पर्यटक आउँदै गर्दा देशलाई के फाइदा हुनेछ ? पर्यटनमा कति गुणस्तरीयता आउने छ ? पर्यटन क्षेत्रबाट राजश्व तथा रोजगारी कति बढ्ने छ ? समग्र आर्थिक वृद्धि, प्रतिव्यक्ति आय एवं कूल गार्हस्थ उत्पादन (जीडीपी) मा कस्तो योगदान दिनेछ ? पर्यटनमा गुणस्तरीयता, बजारीकरण र ब्राण्डिङ्गमा कस्तो परिवर्तन आउने छ ? यही प्रश्नहरुलाई केन्द्रमा राखेर नै हामीले अभियान चलाएका छौँ । आगमी दिनमा तपाई हाम्रो सहकार्यले यी प्रश्नहरुको वास्तविक समाधान पनि हुदै जानेछ ।

आजसम्मका अनेकौं छलफलका क्रममा देखिएको सहभागिता, सक्रियता र प्रतिबद्धताले हामीलाई उत्साही नै बनाएको छ । ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सन्दर्भमा कायम भएको राष्ट्रिय एकताले हामी उत्साही छौँ । सबै क्षेत्रले यसलाई सफल बनाउन जाहेर गर्नु भएको प्रतिबद्धताले हामीलाई थप उर्जा थपिएको छ । हामीले छलफलकै क्रममा सबै राजनीतिक दलका प्रमुखहरुसँग पनि छलफल गरेका छौँ । यसलाई राष्ट्रिय उत्सवकै रुपमा लैजानुपर्नेमा उहाँहरुको जोड छ । सरकार यो अभियानको सहजकर्ता र व्यबस्थापक मात्रै हो, सिंगो देश यो अभियानको आयोजक हो । सबै राजनीतिक दल, नीजि क्षेत्र, सामाजिक संघ संस्थाहरु, गैरसरकारी संस्थाहरु सबै आयोजक हुन् ।