काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय सभामुख कसलाई बनाउने भन्ने विषयको छलफलमा जुटेका छन् ।
सभामुख बनाउने विषयमा छलफलका लागि अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् । सभामुखको विषयमा आजबाट संसदमा प्रकृया अघि बढ्दै छ । संसदमा प्रकृया सुरु हुन लागेको बेला दुई अध्यक्षबीच छलफल हुँदैछ ।
नेकपाभित्र सभामुख पूर्व एमाले वा पूर्व माओवादी कसले लिने भन्नेमा नेताहरू अझै सहमतिमा पुग्न सकेका छैनन्। सभामुखमा पूर्व एमाले र पूर्व माओवादी दुबै पक्षले दावी गर्दै आएका छन्।
प्रधानमन्त्री केपी ओलीले पूर्व सभामुख एवम् स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई सभामुख बनाउने अडानमा छन् । त्यस्तै प्रचण्ड स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई सभामुख बनाउने अडानमा छन् ।
प्रचण्डले पार्टी एकताअघि नै सभामुख पद तत्कालीन माओवादीको भागमा परेकाले सभामुख आफुले प्रस्ताव गरेको व्यत्ति हुनुपर्ने अडान छोडेका छैनन् । पूर्व माओवादी पक्षधर नेताहरुले सभामुख नछाड्न प्रचण्डलाई दबाब दिइरहेको पनि बताइएको छ ।
आइतबार बसेको नेकपाको सचिवालय बैठकले सभामुखको विषयमा छलफल नगरी सकिएको थियो ।