कञ्चनपुर, सौतेलो बावुले बलात्कार गर्दा महेन्द्रनगरमा तीन वर्षीया बालिकाको मृत्यु भएको छ ।
भीमदत्त नगरपालिका १८ सालघारी बस्ने ३० वर्षीय इन्द्र चुनाराले बलात्कार गर्दा तीन वर्षीया सुनिता चुनाराको मृत्यु भएको हो । आफू दाउरा खोज्न जंगल गएर घरमा फर्किदा छोरीलाई बलात्कार गरिएको अवस्थामा मृत फेला पारेको आमा ललिता चुनाराले बताएकी छन् ।
श्रीमानले नै छोरीलाई बलात्कार गरेर मारेको आफूले प्रत्यक्ष देखेको उनले प्रहरीसमक्ष किटानी जाहेरी दिएकी हुन् । बालिकाकी आमा ललिताले तीन महिना अघि मात्रै इन्द्र चुनारासँग बिहे गरेकी थिइन् ।
यता, प्रहरीले भने बाबुको कुटपिटबाट बालिकाको मृत्यु भएको जनाएको छ । चुनाराले कुटपिट गर्दा बालिकाको मृत्यु भएको बयानका क्रममा बताएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार अचेत अवस्थामा भेटिएकी बालिकालाई महाकाली अस्पात पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका हुन् । शव परीक्षणका लागि अस्पतालमा राखिएको र घटनामा संलग्न चुनारालाई हिरासतमा लिएर अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।