स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) नै नक्कली बनाउने गिरोह पक्राउ परेको छ ।
महानगरीय अपराध महाशाखाकाले २ जनालाई ललितपुरको ग्वार्खोबाट र ४ जनालाई न्यूरोडबाट पक्राउ गरेको हो ।
एक जना सवारी चालकको साथबाट शंकास्पद स्मार्ट लाइसेन्स भेटिएपछि प्रहरीले अनुसन्धान गरेको थियो । सो स्मार्ट लाइसेन्स नक्कली भएको प्रमाणित भएपछि उनीहरुलाई पक्राउ गरिएको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकुल थापाले जानकारी दिए ।
नक्कली स्मार्ट कार्ड प्रिन्ट न्यूरोडस्थित पुरानो फोटो स्टुडियो फोटो कन्सर्नका भएको पाएपछि ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको एसएसपी थापाको भनाइ छ ।