सिद्धबाबा प्रकरण : १५ दिनभित्र सक्कल मिसिलसहित प्रतिवेदन पेश गर्न उच्च अदालतको आदेश
उच्च अदालत विराटनगरले बलाकात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको सक्कल मिसिलसहित कैफियत प्रतिवेदन पेश गर्न आदेश दिएको छ ।
शुक्रबार उच्च अदालत विराटनगरले गिरीको मुद्दाको १५ दिनभित्र सक्कल मिसिलसहित कैफियत प्रतिवेदन पेश गर्न सुनसरी जिल्ला अदालतका नाममा आदेश गरेको हो । उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद शर्माको एकल इजलासले दिएको आदेशमा सक्कल प्रतिवेदनसहित कैफियत प्रतिवेदनको माग गरिएको हो।
बलाकात्कारको आरोप लागेका गिरीलाई जिल्ला अदालत सुनसरीले ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। सुनसरी जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीको पुस १४ को आदेशले अभियुक्त गिरी धरौटीमा छुटेका थिए।
उक्त आदेशका विरूद्ध जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै प्रतिवादीलाई थुनामा राखेर कारबाही अगाडि बढाउन उच्च अदालतमा निवेदन दिएको हो।
गिरीमाथि आफ्नै एक महिला अनुयायीउपर गत ४ कात्तिकमा करणी गरेको आरोप लागेको छ।