logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रियसभाको चुनावमा उम्मेदवार बन्न १० हजार धरौटी बुझाउनुपर्ने : विपन्न उम्मेदवार भए धरौटी ५० प्रतिशत छुट


अंकुरण खबर
1.053K
Shares

आगामी माघ ९ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दर्ता गर्न चाहने हरेक उम्मेदवारले १० हजार रुपियाँ धरौटी बुझाउनुपर्ने भएको छ ।

निर्वाचन आयोगले तयार गरेको राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका अनुसार यही पुस २० गते सम्बन्धित प्रदेशमा उम्मेदवारी दर्ता हुँदैछ ।

आयोगका अनुसार यही पुस २० गते आइतबार दिनको १० देखि ३ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ ।

सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । उम्मेदवारले आ–आफ्नो प्रदेशका निर्वाचन अधिकृतको कार्यालय ललितपुर, मोरङ, धनुषा, कास्की, दाङ, सुर्खेत र डोटीमा उम्मेदवारी दर्ताको व्यवस्था गर्न सक्नेछन् ।

मनोनयन दर्ताको लागि उम्मेदवारले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैङ्क भौचर बुझाउनुपर्नेछ ।

तर महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ । साथै आर्थिक रूपमा विपन्न भएको भनी सम्बन्धित स्थानीय तहले सिफारिस गरेको सिफारिस पत्र संलग्न हुनुपर्नेछ ।

दलको उम्मेदवारको हकमा दलको मनोनयनको औपचारिक पत्र, दलित समूहबाट निर्वाचित हुने सदस्य पदका लागि उम्मेदवारी दिने व्यक्तिले दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा बुझाउनुपर्नेछ ।

यस्तै अपाङ्गता भएका वा अल्पसङ्ख्यक समूहबाट निर्वाचित हुने पदका लागि उम्मेदवारी दिने अपाङ्गता भएका व्यक्तिले अपाङ्गताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र अल्पसङ्ख्यक समुदायको व्यक्तिले अल्पसङ्ख्यक समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा समावेश गर्नुपर्नेछ ।

प्रस्तावक र समर्थकको नाम, सम्बन्धित प्रदेश सभाका सदस्य वा सम्बन्धित प्रदेश भित्रका गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचक मण्डलको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण पेस गर्नुपर्ने छ ।

उम्मेदवारी दिँदा कुनै लाभको पदमा बहालवाला पदाधिकारी भए निज बहाल रहेको पदबाट राजीनामा दिएको दर्ताको निस्सा तथा संवत् २०७४ सालको प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिले मनोनयनपत्र दर्ता गर्दा बन्दसूचीबाट नाम फिर्ता लिएको आयोगको पत्रको प्रतिलिपि समावेश हुनुपर्ने छ ।