logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हिमपातले जनजीवन कष्टकर, सञ्चार अवरुद्ध, हवाई सेवा ठप्प


अंकुरण खबर
1.248K
Shares

सोलुखुम्बुः निरन्तर परेको हिमपातले अवरुद्ध ओखलढुङ्गा-जन्तरधाप-सल्लेरी-फाप्लु सडकखण्ड आंशिक रुपमा खुलेको छ ।

शुक्रबारदेखि परेको हिमपातका कारण जिल्लालाई सङ्घीय तथा प्रदेश राजधानीसँग जोड्ने उक्त सडकखण्ड शनिबार दिउँसो खुलेको भए पनि साँझ पख पुनः अवरुद्ध भएको थियो ।

शनिबार दिउँसो शिद्धिचरण नगरपालिका ओखलढुङ्गा र सोलुदूधकुण्ड नगरपालिकाको जेसिबीले सडक खुलाएको थियो । साँझ करिब ५ बजे १५ वटा जति जीप ओहोरदोहोर गरेपछि पुनः हिमपात हुँदा सडक अवरुद्ध बनेको छ ।

हिमपात भएपछि उच्च हिमाली क्षेत्रको जनजीवन भने कष्टकर बनेको छ । चिसोबाट बिशेष गरी बुढाबुढी, केटाकेटी र पशुपछी प्रभावित भएका छन् ।

हिमपातसँगै मौसम प्रतिकुल हुँदा हवाई सेवा अवरुद्ध बनेको छ । जिल्लाको तेञ्जिङ हिलारी विमानस्थल लुक्ला र फाप्लु विमानस्थलमा आइतबार कुनै पनि उडान तथा अवतरण हुन नसकेको जनाएको छ ।

हवाई सेवा अवरुद्ध हुँदा जिल्ला अस्पताल फाप्लुमा उपचार सम्भव नभएपछि काठमाडौं लैजाने बिरामीलाई समस्या भएको बताइएको छ ।

बिहीबारबाट निरन्तर परेको हिमपातका कारण टेलिफोन सेवा अवरुद्ध बनेको छ । नेपाल टेलिकमको लेण्डलाइन, सिडिएमए र नमस्ते फोन सेवा अवरुद्ध बनेको हो ।