सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ ।
भेटवार्ता कांग्रेस सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा भएको हो । करिब दुई घन्टा भएको भेटवार्ता सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग गठनका विषयमा केन्द्रित भएको जनाइएको छ।
भेटपछि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगलाई छिट्टै पूर्णता दिन दुबै नेता सहमत भएका छन् । दुवै नेता द्वन्द्वका घटना सुल्झाउने गरी दुवै आयोगको नेतृत्व चयनको पक्षमा रहेका छन् । भेटमा सभापति देउवाले सरकारले पछिल्लो समय संबिधान प्रतिकुल हुने गरी केही कानुनको मस्यौदा गरेको भन्दै ध्यानाकर्षण गराएका छन् ।
जवाफमा दाहालले संबिधान प्रतिकुल कानुन निर्माण हुन नसक्ने भन्दै विवाद भएका विषयमा सदनमै छलफल गरेर त्यसको समाधान निकाल्न सकिने बताएका छन् । भेटमा सदनमा नेकपाकै कारण गतिरोध देखिएको विषयमा समेत काग्रेस सभापति देउवाले ध्यानाकर्षण गराएको बताइएको छ ।