logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विपन्नतामा रहेका जनतालाई सम्पन्नता दिलाउनुनै जनप्रतिनिधिको कर्तव्य हो …


अंकुरण खबर
4.394K
Shares

जनतासंग प्रत्यक्ष काम गर्ने वा जनसरोकारका सवाल उठाउने सबै भन्दा निकटतम माध्यम भनेकै अहिले वडा कार्यालय या वडा अध्यक्ष हुन । स्थानीय तहका समस्या, समस्याको समधान गर्दा आइपर्ने चुनौतीका बारेमा नागार्जुन नगरपालिका वडा नं १ का वडा अध्यक्ष रामचन्द्र लामासंग अंकुरण खबरका लागि अनिता मगरले गरेको कुराकानीको संपादित अंश…

पहिले र वडा अध्यक्ष भएपछिको व्यस्तता कस्तो छ ?
हामी सामाजिक कार्यकर्ता भएकाले पहिले पनि व्यसतनै हुन्थौं । अझ अहिले साढे दुई वर्ष अघिदेखि जनप्रतिनिधि भएपछि व्यस्तता अझै बढेको छ । पहिले पनि जो अन्यायमा परेका छन् । गाँस,बाँस,कपास लगाएत आधारभूत सेवा सुविधा पाएका छैनन् उनीहरुलाई न्याय दिलाउन र आवश्यक्ता परिपूर्तीको लागि सहयोग गर्दा नै समय वित्थो । अहिले जनप्रतिनिधि भए पछि त अझ यस्ता कुरामा लाग्नु आफ्नो कर्तव्य नै भेहाल्यो । जनताका काममानै  व्यस्त छौं ।

तपाई वडा अध्यक्ष भएर आएपछि के कस्तो परिवर्तन गर्नुभयो वडामा ? जसले जनता प्रत्यक्ष लभान्वित भए ?
हामी जनप्रतिनिधि भएर आएको पनि साढे दुई वर्ष बितिसक्यो । स्थानीय तहमा लामो समय जनप्रतिनिधि नहुँदा विकास निर्माणदेखि जनताका हरेक काममा धेरै समस्या थिए । साच्चिनै लथालिंग भताभुंग स्थानीय तह भएको बेलामा हामी जनप्रतिनिधि चुनियर आएकाले धेरै समस्या कै बाबजुत पनि जनता लाभान्वित हुने काम गरिरहेका छौं । जस्तै विकास निर्माणका कामहरु बाटोघाटो, खानेपानीमा बजेट लगानी गर्यौ । मलाई लाग्छ नभई नहुने कार्यक्रमहरु हामीले गरिसकेका छौ । यति काम गरेको छौ भनेर आफै मूल्यांकन त गर्न मिल्दैन् तर हामीले अहिलेसम्म धेरै योजना सञ्चालनमा ल्याएका छौ । अहिले विकासका काममा नै फोकस छौ हामी । प्राथमिकताका साथ भित्री सडक बाटोहरु बनाएका छौ। नर्सरी चोकदेखि घोन खोला माइक्रो पार्कसम्मको बाटोलाई कालोपत्रे गरेर एक करोड ४२ लाखको टेन्डर पनि भरिसकेका छौ । यो कार्यमा सम्झौता अनुसार काम सुरु भैसकेको छ ।

नार्गाजुन नगरपालिकाको अन्य वडाको तुलनामा एक नम्बर वडा के कारणले बिशेष छ ?
हुन त अरु वडा जस्तै यो वडा पनि सामान्य हो । यहां मनोमहक वन जंगल छन् । सात आठ रोपनी जग्गा प्लानीङ गरिएको छ । एघार किलोमिटर जग्गा बाटोको लम्वाईमा छ । यसलाई पनि हामीले सबै ढलान र पिजको काम सम्पनन्न गरिसकेका छौ । यो वडालाई राम्रो वडा बनाउन हामी सोही मुताविक काम गरिरहेका छौं ।

यस वडामा जो नागरिक नैसर्गिक अधिकारबाट बन्चित छन् उनीहरुलाई अधिकार दिलाउन तपाईले के पहल गर्नु भएको छ ?

हाम्रो मूख्य कार्य भनेकै सबै नागरिकलाई नैसर्गिक अधिकार दिलाउन लागिपर्नुनै हो । जो यस्ता व्यक्तिहरु छन् उनीहरुको अधिकार सुनिश्चित गर्न हामीले कुनै कसर बाकी राखेका छैनौ । विशेष गरेर शारीरिक रुपमा अशक्त,कमजोर आर्थिक अवस्था भएका , महिला ,दलित, जेष्ठ नागरिक सबैलाई हामीले उनीहरुको आवश्यक्ता र क्षमता अनुसार के कसरी सहज जीवनयापन गर्न सकिन्छ त्यो कुरामा बजेट बिनियोजन गरेर अगाडी बढेका छौं ।

हुन त अहिले महिलाले गर्न नसक्ने काम केहि पनि छैन्। हामीले महिलाहरुलाई नै बढि प्रोत्साहन दिने गरेका छौं । उनीहलाई सिपमुलक तालिमहरु जस्तै साबुन बनाउने, मखमलका जुत्ता बनाउने, पुतलीहरु बनाउने लगायतका तालिम दिएका छौ । तालिम सिकेर महिलाहरुको जीवन स्तर उकासिएको छ । आफै आर्थिक आय आर्जन गर्न सक्षम भएका छन्।

यो वडाका मूख्य समस्याहरु के के हुन् ? यसको समाधानको लागि तपाईले के पहल गर्नुभएको छ ?

मूख्यत: यहाँको समस्या भनेकै बाटोघाटो, खानेपानी कै हो । एक नम्वर वडामा पानीको मुहान छैन । हामीले धेरै ठाउँमा पानी निकाल्नलाई बोरिङ पनि गर्यौ तर यो सम्भव भएन । बिस्तारै पानीको समस्यालाई पनि हामीले समाधान गर्ने गुरुयोजनामा छौ । तर अहिले खास गरी बाटोघाटामै लागि परेका छौ । सोनम क्याफेमा एक करोड ८२ लाखको टेन्डर पारेका छौ। त्यो काम पनि तत्कालै सुरु हुनेवालामा छ । त्यसै गरि श्री बालविकास स्कुल गैरीमा नगरपालिकाको तर्फबाट ५० लाख, तीन नम्वर प्रदेश सभासदको कोषबाट ५० लाख गरेर एक करोड छुट्याएका छौ । त्यस्तै साइट बाटोहरुको लदागि पनि टेन्डर हालेर काम भैरहेको छ भने कत्तिको काम सम्पन्न भैसकेको छ । हामी सबै कामहरु निर्धारित समयमै सम्पन्न गर्न अहोरात्र खटिएका छौं ।

नगरपालिकाबाट कत्तिको सहयोग हुन्छ ?
हामीले व्यक्तिगत स्वार्थका लागि काम गर्ने हैन् । सबै वडा कार्यालय र नगरपालिकाले जनताकै लागि काम गर्ने हो । जनताको कामका लागि वडाले गर्ने प्रस्तावमा नगरपालिकाको असहयोग छैन् ।

नेपाल भ्रमण वर्ष २०२० (भिजिट नेपाल ट्वान्टी ट्वान्टी) सफल बनाउन नार्गाजुन नगरपालिका र तपाईको वडाले के तयारी गरेको छ ?
भिजिट नेपाल ट्वान्टी ट्वान्टी कार्यक्रम नगरपालिकाका दशवटै वडाबाट सयुक्त रुपमा गर्न लागेका छौं । यो कार्यक्रम हामीले आउने २६ गते शनिबार भनेर डेट पनि फिक्स गरिसकेका छौ । करिब हजार बाह्रसय मान्छे भेला गराएर बिभिन्न धामी, झार्की, लाखेनाच, नेवारहरुको बाजा लगायतका विभिन्न रमाइला कार्यक्रमका साथ भिजिट नेपाल ट्वान्टी ट्वान्टीलाई स्वागत गर्ने योजनामा छौ । स्वयम्भूका तीन नम्वर वडा हुदै नारायणथान, चिसोपानीबाट घुमेर ह्ववाइट गुम्वा आइपुगेपछि हाम्रो कार्यक्रम सुरु हुनेछ । कार्यक्रम सकिएपछि फेरि जुन ठाउँबाट प्रवेश गरेका थियौ त्यही ठाउँमा आएर कार्यक्रमलाई समापन गर्ने भन्ने तयारी भइरहेको छ ।

वडामा भ्रमण गर्न लायक ठाउँहरु के के छन् ?
एक नम्वर वडाको भिजिट गर्ने ठाउँ भनेकै जंगल हो । माथिको हाइटको टावरबाट रमाइला दृष्य, पाटनहरु देखिन्छन् । त्यतिमात्र नभईकन जंगली जनावरहरु चराचुरुगीं आदि देख्न पाइन्छ । स्वच्छ हावापानी, हरियाली जंगलभित्रका रमनिय ठाउँ प्रस्टसँग देख्न सकिन्छ । यो क्षेत्रमा जति बाक्लो जंगल छ त्यो अन्य क्षेत्रमा विरलै छ ।

स्थानीय तहमा भ्रष्टचार बढी भयो भन्ने जनगुनासो सुनिन्छ नि ?

सुन्नमा आएपनि यो बिषयमा मैले देखेको र भोगेको छैन् । हाम्रो एक नम्वर वडामा यस्तो खालको जनगुनासो पनि अहिलेसम्म आएको छैन् । तर कतैकतै छुटफुट सुनिन्छ । सबै मान्छे एउटै हुदैन् । पारदर्शीताको नमुना वडा बनाउने कुरामा हामी सचेत छौं ।

आगामी दिनमा वडा नम्वर एक लाई हामी कस्तो अवस्थामा पाउन सक्छौ ?
अबको कार्यकाल अबधिसम्म एक नम्वर वडामा केहि परिवर्तनहरु त पक्कै पनि आउँछ नै । बाटोघाटो कालोपत्रे र ढलान, बत्ती, पानी सबै पूर्ण रुपमा सम्पन्न हुनेछ । विकास निर्माणका काम अहिलेसम्म करिब करिब ९० प्रतिशत पुरा भैसकेका छन् । मलाई लाग्छ जति पनि अपुरा कामहरु छन् ती सबै सयमा सय प्रतिशत पुरा हुन्छ ।
र अन्त्यमा म वडाबासीलाई के भन्न चाहान्छु भने अहिले सम्म जति पनि विकास भएका छन् यो सबै वडावासीको साथ सहयोग र हौसलाबाट नै भएको हो । काम गर्ने क्रममा कतिपय कमी कमजोरी हुन्छ । यस्ता कुरालाई सच्चाउदै लैजाने छौ ।  वडाबाट हुने काममा कही कतै ढिला सुस्ती भयो, अजायज फाइदा कसैले लिन खोज्यो भने तुरुन्त सम्पर्क गर्न पनि अनुरोध गर्दछु ।