श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आफुले आउँदा दिनमा गर्ने कामको विस्तृत् जानकारी सार्वजनिक गरेका छन् ।
उनले आफुले तिन महिनामा गर्ने कामको विवरण सार्वजनिक गरेका हुन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले चालु आर्थिक वर्षमा ६० हजार बेरोजगारलाई न्युनतम १०० दिनको रोजगारी प्रदान गर्ने गरी स्थानीय तहबाट रोजगार आयोजना सञ्चालन गर्ने बताएका छन् ।
उनको कार्ययोजनामा, बिमा र कल्याणकारी कोषवापतको रकम अनलाइन प्रणालीमार्फत बुझाउने व्यवस्था गर्ने, दुई वर्ष पुराना सबै संस्थागत उजुरीहरुको छानबिन प्रक्रिया सम्पन्न गर्ने, वैदेशिक रोजगार विभागका सबै अभिलेख विद्युतीय अभिलेखांकन गर्ने, विदेशस्थित कुटनीतिक नियोगबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयनमा ल्याउने र ओमनसँग द्विपक्षीय श्रम समझदारी गर्ने पनि रहेको छ ।
त्यस्तै, मन्त्रालयले थप १० हजार जनालाई लक्षित गरी वैदेशिक रोजगार बोर्डबाट निशुल्क तालिम प्रदान गर्ने, वैदेशिक रोजगारबाट फर्केका कामदारहरुका लागि आर्थिक तथा सामाजिक पुनः एकीकरण कार्यक्रम कार्यान्वयनमा ल्याउने योजना बनाएको छ ।