काठमाडौं – हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरु भएको छ ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
गएको वर्ष लाखौँको सङ्ख्यामा भक्तालु दर्शनार्थीले प्रत्यक्ष स्वस्थानी व्रत दर्शन गरेको तथ्याङ्कलाई मध्यनजर गर्दै यो वर्ष पनि राजधानीको शङ्करापुर नगरपालिकाको साँखुस्थित शालीनदीमा पूजा तथा स्नान गर्नेहरुको घुइँचो लाग्ने आयोजक समितिले जनाइएको छ । सोही अनुसार मेलाका लागि सम्पूर्ण व्यवस्थापन गरिएको छ ।
पार्वतीले श्रीस्वस्थानी परमेश्वरको व्रत बसेको प्रभावले महादेव पति पाएको र संसारमा दुःखीहरूको उद्धार गर्न महादेवको स्वीकृति लिएर उनी रसातल, पाताल र मत्र्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको व्रतकथामा उल्लेख छ ।
सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको र पछि उहाँले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीहरूको उद्धार गर्नुभएको कथाका रूपमा यो नेपाली समाजमा प्रचलित छ ।
व्रत बस्ने प्रत्येक महिलाले महिनाभरि नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेको खण्डमा पुण्य मिल्ने तथा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । स्वस्थानीमा कसैले पनि अभिमान र अवहेलना गर्न नहुनेजस्ता नैतिक शिक्षा पनि दक्षप्रजापति र चन्द्रावतीजस्ता पात्रका माध्यमबाट समाजलाई दिन खोजिएको छ ।
परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा एक महिनासम्म विभिन्न जिल्लाबाट भक्तजनको घुइँचो लाग्ने गर्दछ । एक महिनासम्म चल्ने स्वस्थानी व्रतलाई एउटा विशेष पर्व नै मान्ने चलन छ ।
मेला मूल आयोजक समितिका अनुसार यस वर्ष भक्तजनको सुविधा तथा शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै मेला वरपर क्षेत्रमा सिसी क्यामेरा जडान गरिनुका साथै विभिन्न उपसमिति गठन गरी मेलालाई व्यवस्थित बनाउने तयारी भएको छ ।