धनुषा – अवैध गिटी बालुवा उत्खननको विरोध गर्दै आएका एक युवकको टिपरले किचेर हत्या गरिएको छ । ना ७ ख ६४१३ नम्बरको टिपरले २४ वर्षीय दिलिपकुमार महतोलाई ठक्कर दिएको हो ।
शुक्रबार बिहान साथीसँग मर्निङवाकमा निस्किएका महतोलाई धनुषाको औरही खोला नजिक टिपरले किचेको हो । महतोलाई जबर्जस्ती समाएर चालकले किचेर हत्या गरेको स्थानीयले बताएका छन् ।
युवकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।
घटनापश्चात् ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिए पनि ट्रिपर चालक भने फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
गाउँलाई नै जोखिममा पर्ने गरी औरही–बसही खोलामा भइरहेको अवैध गिट्टी बालुवा उत्खनन्को दिलिप नेतृत्वमा गाउँलेले विरोध गर्दै आएको थिए। रिसिबीका कारण योजनाबद्ध रुपमा दिलीपको हत्या गरेको स्थानीयको आरोप छ।
घटनाको विरोधमा गाउँलेले पूर्व–पश्चिम राजमार्ग बिहानैदेखि अवरुद्ध पारेका छन् । मिथिला नगरपालिका-५ श्रीपुर रामलक्ष्मण चोकमा स्थानीयले टायर बालेर दोषीलाई कारवाहीको माग गरेका छन् ।