तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्गमा बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २५ यात्रु घाइते भएका छन् ।
आज बिहान पाल्पाको रामपुरबाट पोखरातर्फ जादैँ गरेको ग१ख ६१७५ नम्वरको बस घिरिङ गाउँपालिका–३ स्थित थानीमाइमा अनियन्त्रित भई सडकबाट तल खसेको हो ।
मृत्यु हुनेमा घिरिङ गाउँपालिका–१ बस्ने २० वर्षीया मुना थापा र घिरिङकै वडा नं ३ बस्ने ४२ वर्षीय नानीमाया गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार, थापाको घटनास्थलमै र गुरुङको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका २५ यात्रु मध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । घाइतेमध्ये १८ लाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।