काठमाडौं – नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख शिवमाया तुम्बाहाङ्फेसँग आज छलफल गरेका छन् ।
रिक्त प्रतिनिधि सभाको सभामुख पदको निर्वाचनको मिति पर सरिरहेका बेला उक्त सभामुख पदमा अड्किएको गाँठो फुकाउन तुम्बाहाङ्फेलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर दुई अध्यक्षले वार्ता गरेका हुन् ।
सभामुख चयनको प्रक्रिया अन्यौलमा परेपछि दुई पटक संसदको बैठक सूचना मार्फत् स्थगित भैसकेको छ । अर्को बैठक आइतबारका लागि डाकिएको छ ।
तुम्बाहाङ्फेलाई दुई अध्यक्षले यसअघि नै बाटो खोलिदिन आग्रह गरिसकेका छन् । यदि उपभामुख पद छाडेमा मन्त्री बनाउने आश्वासन दुई अध्यक्षले उनलाई दिएका छन् ।
तर उनले तत्कालीन सभामुख कृष्णबहादुर महराको गल्तीको दोष आफूलाई नदिन आग्रह गर्दै सभामुखको पहिलो दाबेदारका रुपमा आफैंलाई प्रस्तुत गरिरहेकी छन् ।
नेकपाले सभामुख आफु राखेर उपसभामुख सत्तासाझेदार अर्को दललाई दिने तयारी गरेको छ ।