काठमाडौं – नेपाल प्रहरीले रकम लिएर सवारी अनुमतिपत्र (लाइसेन्स) बनाइदिने एक जनालाई पक्राउ गरेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले रकम लिएर लाइसेन्स बनाउने सुजुकी ड्राइभिङ स्कूल एकान्तकुनाका सवारी चालक तनहुँका ३८ वर्षीय भरत बस्नेतलाई आइतबार एकान्तकुनाबाटै पक्राउ गरेको हो।
५ हजार रुपैयाँ लिएर ट्रायल पास गराउन खोज्ने बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका बस्नेतले धनुषाका २६ वर्षीय अमित शाहसँग चालक अनुमतिपत्र बनाइदिने भन्दै रकम लिएका थिए।
पक्राउ परेका बस्नेतलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सातदोबाटो पठाइएको महाशाखाले जनाएको छ ।