सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले सिंहदरबारस्थित भूकम्पबाट क्षतिग्रस्त प्रतिनिधिसभा भवन भत्काएर नयाँ निर्माण गर्न निर्देशन दिएको छ।
मंगलबार बसेको समितिको बैठकले पुरानो संसद् भवन भत्काएर नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको हो। शहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायतका प्रतिनिधिसँगको छलफलपछि समितिले पुरानो संसद् भवन भत्काएर नयाँ भवन बनाउन निर्देशन दिएको हो ।
भूकम्पका कारण क्षतिग्रस्त सो भवन भत्काउने कि नभत्काउने भन्ने विषयमा प्राधिकरण, मन्त्रालय र पूरातत्त्व विभागबीच विवाद हुँदा अहिलेसम्म प्लास्टिकले छोपेर जीर्ण अवस्थामा नै राखिएको छ ।
समितिकी सभापति कल्याणी खड्काले यो भवन यत्तिकै बचाएर उपयोग गर्ने सम्भावना कम भएकाले मौलिकता कायम राखेर नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको बताएकी छन् ।
पुनर्निर्माण प्राधिकरण र शहरी विकास मन्त्रालय भवन भत्काएर नयाँ बनाउनुपर्ने पक्षमा देखिए पनि पूरातत्त्व विभागले नभत्काई अहिलेकै स्वरुपमा प्रवलीकरण गर्नुपर्ने बताएको थियो ।