काठमाडौं – बुधबार साँझ पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्दैछ । यस प्रणालीका कारण बुधबार राती देशको पश्चिमी क्षेत्रमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपात को सम्भावना रहेको छ ।
यो प्रणालीका कारणले बिहीबार देशको मध्य तथा पश्चिमी क्षेत्रमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुनुका साथै थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ ।
साथै, मध्य तथा पश्चिमी पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र सोहि भू–भागका १–२ स्थानहरुमा भारी वर्षाको सम्भावना समेत रहेको छ ।
देशको पूर्वी भू–भागमा बिहीवार आंशिक देखि सामान्य बदलि भई १–२ स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
यस प्रणालीको प्रभाव देशभर शुक्रबार सम्म नै रहने र शुक्रबारसमेत वर्षा र हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।