अमेरिका र चीनबीच व्यापारिक सम्झौता हुने भएको छ। एकअर्का विरुद्ध आर्थिक प्रतिबन्ध लगाउँदै आएका यी दुई देश हुन लागेको नयाँ सम्झौताबाट सम्भावित ट्रेड वारु अन्त्य भएको सीएनएले जनाएको छ।
यद्यपि, अमेरिकाले एक सय बिलियन डलर चिनियाँ सामानमा लगाएको कर भने लागू रहने बताइएको छ। यसबारे आगामी राष्ट्रपति निर्वाचनपछि मात्रै केही निर्णय लिने मनस्थितिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुगेको बताइएको छ।
गत वर्ष अमेरिकाले २ सय खर्ब डलरको चिनियाँ सामाग्रीमाथि लगाएको १० प्रतिशत कर वृद्धिलाई २५ प्रतिशत पुर्याएको थियो। अमेरिका र चीनका प्रतिनिधिहरूबीच भएको वार्ता सफल हुन नसकेपछि अमेरिकाले गरेको कर वृद्धि कार्यान्वयनमा आएको थियो। यस्तै, अमेरिकाले २ सय खर्ब डलरको चिनियाँ सामाग्रीमा कर वृद्धि गरेको केही दिनमै चीनले पनि कर वृद्धि गर्ने घोषणा गरेको थियो।
अब अमेरिका र चीनबीच हुने नयाँ सम्झौताबाट विश्व अर्थतन्त्र नै धरापमा पर्नबाट जोगिने अर्थशास्त्रीहरुले धारणा राखेका छन्।