logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजदेखि बैंकमा पैसा जम्मा गर्दा पनि ३ पुस्ते विवरण खुलाउनुपर्ने


अंकुरण खबर
1.209K
Shares

आजदेखि बैंकमा पैसा जम्मा गर्दा त्यस्ता व्यक्तिले पनि आफ्नो ३ पुस्ते विवरण खुलाउनुपर्नेछ भने नागरिकता, सवारी चालक अनुमति पत्र, मतदाता परिचयपत्र वा पासपोर्ट अनिवार्य देखाउनु पर्ने छ ।
गत महिना नेपाल राष्ट्र बैंकले दिएको निर्देशनअनुसार सबै वाणिज्य बैंकहरूले गो–एएमएल प्रणालीमार्फत कारोबार सुरु गरेका छन् ।

यो प्रणाली लागू भएसँगै बैंक तथा वित्त कम्पनीमा बैंकहरूले पनि गो–एएमएल सफ्टवेयरमा बैंकले आफ्ना नयाँ वा पुराना सम्पूर्ण ग्राहकको विवरण राख्नेछन् ।

नेपाल राष्ट्र बैंकका अनुसार अब बैंकहरूले ग्राहकसँग केही कागजपत्र अपूरो नै राखेर खाता खोलेको भए ती अपूरा कागजपत्र बैंकले पुनः माग गर्नेछन् । सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी गतिविधिमा हुन सक्ने वित्तीय लगानी रोक्न यो प्रणाली लागू गरिएको जनाइएको छ।

आजका मितिदेखि वाणिज्य बैंक र आगामी १ असार २०७७ देखि विकास बैंक र फाइनान्स कम्पनीहरूले गोएएमएल सफ्टवेयर अनिवार्य राख्नुपर्नेछ । वाणिज्य बैंकहरूले वित्तीय जानकारी इकाइमा पेस गर्नुपर्ने सीमा तथा शंकास्पद कारोबार तथा गतिविधिको रिपोर्ट अनिवार्य रूपमा गो–एएमएलमार्फत राष्ट्र बैंकलाई जानकारी गराउनेछन् ।

अहिलेसम्म बैंक तथा वित्तीय संस्थाहरूले दैनिक १० लाखभन्दा माथिको कारोबारको मात्रै विवरण पठाउने गरेका थिए । गो एमएलमा गएसँगै अब १० लाखभन्दा बढी रकम दिनभरिमा फरक फरक शाखा र समयबाट डिपोजिट भए पनि देखिने हुन्छ ।