सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच अढाई घण्टा बढी छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटार पुगेका अध्यक्ष दाहाल र ओली बीच सभामुख शुक्रबारभित्रै टुंग्याउने सहमति भएको छ । भोलि दिउँसोसम्म सभामुख टुंग्याउने निर्णय भएको बालुवाटार स्रोतले बताएको छ ।
प्रधानमन्त्री ओली निकट स्रोतका अनुसार, जो सभामुख भए पनि शुक्रबार भन्दा उता नलैजाने सहमति जुटेको छ । सभामुख बारेको अनिर्णयलाई नलम्ब्याइनेमा दुवै अध्यक्ष सहमत भएका हुन् ।
बलात्कार अभियोगमा कृष्णबहादुर महराले राजीनामा दिए पछि सभामुख पद १४ असोजदेखि रिक्त छ । पूर्व माओवादी र एमाले बीच कुरा मिल्न नसक्दा सभामुख चयन हुन सकेको छैन भने उपसभामुख डा।शिवमाया तुम्बाहाङ्फेले समेत निसर्त राजीनामा नदिने अडान लिदै आएकी छन् ।
यो विवाद हल हुन नसक्दा ४ पुसबाट शुरु भएको प्रतिनिधिसभा बैठक अवरुद्ध हुँदै आएको छ ।