logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिकित्सकीय चुनाव र यसका आयामहरु


अंकुरण खबर
1.001K
Shares

डा. मनोर दिन सैयद

काठमाडौं – स्वास्थ्य सम्बन्धि मान्यता प्राप्त विश्वविद्यालयबाट चिकित्सा उपाधि लिएर सम्बन्धित निकायमा दर्ता भई बिरामीको उपचार गर्न सक्ने मानिस नै चिकित्सक को शाब्दिक अर्थ हुन आउँछ । नेपाल मेडिकल काउन्सिलको मुताबिक करिब २६,००० चिकित्सक दर्ता भएका छन् । चिकित्सा उपाधिलाई विश्वविद्यालयको उच्चतम् उपाधिको रुपमा पनि लिने गरिन्छ । मानवीय जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विधा भएकोले पनि समाजमा विशेष महत्वपूर्ण नजरले हेरिन्छ र देशमा कार्यरत चिकित्सकको संख्याबाट समग्र देशको सूचक समेत निर्धारण गरिने हुनाले यो सदैव बहसको विषय हुन सक्छ । नेपालका २६,००० दर्तावाला चिकित्सकहरु छन् तर त्यति नै संख्यामा चिकित्सकहरु हाल नेपाल मा कार्यरत छन् भन्नु भनेको अल्पज्ञान को उपज हो किनकी ति मध्ये धेरै चिकित्सकहरु निधन भइसकेका, मुलुक बाहिर रहेका तथा मुलुकमै भएता पनि पेशा नअपनाएकालाई घटाउँदा त्यो संख्या आधामा झर्न सक्छ ।

नेपालमा चिकित्सा सम्बन्धि दुईबटा संस्था हरु छन् । पहिलो नेपाल मेडिकल काउन्सिल र दोस्रो नेपाल चिकित्सक संघ । नेपाल चिकित्सक संघ सम्पूर्ण चिकित्सकहरुको व्यवसायिक हक, हित र अधिकारका लागि लड्ने छाता संगठनको रुपमा बि.सं २००७ सालमा नै दर्ता भएको हो । इतिहासको पाना पल्टाउँदा नेपाल चिकित्सक संघलाई देशकै पहिलो व्यवसायिक संस्थाको रुपमा लिन सकिन्छ । चिकित्सक संघलाई चिकित्सकीय स्तर, मुल्य र मान्यतालाई कायम राख्ने, चिकित्सकहरुका हक र सामुहिक आवाज उठाउने थलोको रुपमा लिन सकिन्छ । काउन्सिलमा २६,००० को हाराहारीमा दर्तावाल चिकित्सक हुदाँ संधमा भने केवल १२,००० को हाराहारीमा मात्रै आवद्घ भएको देख्दा धेरैलाई आश्चर्य लाग्न सक्छ तर यथार्थ यहि हो । अन्य मुलुकमा भने यस्तो फरक नभएको देखिन्छ । बिरामी जाँच्न भन्दा पहिला मेडिकल काउन्सिलको दर्ता अनिवार्य भएका कारणले गर्दा काउन्सिलमा त दर्ता हुनै पर्यो तर संघमा सदस्यता नलिएको अवस्थामा पनि बिरामी जाँच्न पाउने कारणलाई पनि यसो हुनुको प्रमुख रुपमा लिन सकिन्छ तर त्यसो भन्दैमा अबका नयाँ चिकित्सकहरुलाई संघ को सदस्यता लिनबाट झनै निरुत्साहित गरिनु पर्छ भन्ने कदापी होइन बरु चिकित्सक संघको आजिवन सदस्यता शुल्कलाई कम गरेर साथै मेडिकल काउन्सिलमा चिकित्सक सघंको पनि एउटा काउन्टर खडा गरेर भएता पनि जागरण कार्यक्रमहरु मार्फत नयाँ सदस्यहरु बढाउनु पर्ने टड्कारो आवश्यकता छ ।

वि.सं २०२० सालमा तत्कालिन राजा महेन्द्रले राष्ट्रिय पञ्चायतको सुझाव र मंजुरीनामामा ऐनलाई पारित गरेको इतिहासले बताउँछ र त्यसबेला देखिनै कम्तिमा चिकित्सा शास्त्रमा स्नातक तह पास गरेकालाई चिकित्सक भन्ने र स्वास्थ्य पेशालाई थप सम्मानित बनाउने जमर्को गरेको देखिन्छ । नेपाल मेडिकल काउन्सिल ऐन २०२० सालमा पहिलो पटक र समयसंगै २०४४, २०४७ तथा २०५७ मा परिमार्जन हुँदै आएको छ जस्को प्रमुख कार्य भनेको चिकित्सकहरुको अभिलेख दुरुस्त राख्नु र आधुनिक चिकित्सा पद्घति लागु गराउन सक्रिय रहनु नै हो । काउन्सिल ले दर्तावाला चिकित्सहरुको ठेगाना, सम्पर्क नम्बर र उसका सबै उपाधिहरुको प्रतिलिपि राखेको हुन्छ र चिकित्सकको रुपमा गर्नु पर्ने कार्यहरु नगरेको फेला परेमा तथा सेवाग्राहीको उजुरीको आधारमा अनुसन्धान पश्चात चिकित्सकहरुलाइ सचेत गराउने, छानविन गर्ने र थप कारवाहीका लागि सम्वन्धित निकायमा प्रस्ताव समेत गर्न सक्ने अधिकार पाएको हुन्छ । २०२० भन्दा पहिला चिकित्सकहरु नेपाल चिकित्सक संघको मात्रै सदस्यता लिने प्रचलन थियो ।

नेपालमा स्थानिय स्तर तथा राष्ट्रिय स्तरमा राजनीतिक चुनाव भए जस्तै काउन्सिल र संघको चुनाव हुने गरेको छ । अहिले नेपाल चिकित्सक संघको चुनावमा १३ वटा पदका लागि दुइटा प्यानल बनाएर उठेको अवस्था छ । हरेक ३ वर्षमा चिकित्सक संघको चुनाव हुने शिलशिलामा २०७६–२०७९ का लागि अहिले माघ ४ र ५ गते राजधानी बाहिर साथै माघ १७ देखि २१ सम्म केन्द्रिय राजधानी काठमाडौँमा चुनाव हुँदैछ । अत चुनावमा धेरै भन्दा धेरै चिकित्सक साथीहरुले मतदान गरेर सवल र योग्य उम्मेदवार लाइ निर्वाचित गराउनु हामी सबैको कर्तव्य हो ।

चिकित्सक तथा अस्पतालको सुरक्षा, न्युन तलब र सिमित एम.डि.सिट प्रमुख चुनौतिको रुपमा अगाडि आइराखेको छ । अत्यन्तै नाजुक अवस्थामा अस्पताल पुगेको बिरामीलाई विभिन्न कोशिसका बावजुद पनि बचाउन नसकिएमा चिकित्सक तथा भौतिक सम्पत्ति माथि आक्रमण गर्ने, हुल हुज्जत गर्ने र नियम कानुनलाई नमान्नु सामान्य भैसकेको अवस्थामा मिडियाले पनि समाचार झनै उत्तेजनात्मक तबरले दिँदा कानुनी राज्यलाई थप चुनौति थपिएको भान भएको छ । अस्पतालमा भैपरी आएमा कानुनी बाटो अपनाउनुको सट्टा चिकित्सक तथा अस्पताल माथि आक्रमण र तोडफोडमा उत्रने जत्थालाई बिना धरौटी जेल चलान नै हामी सम्पूर्ण चिकित्सकहरुको अहिलेको प्रमुख माग हो । यी विभिन्न चुनौतिहरुका बाबजुद पनि देशमा सुध्रदै गएको स्वास्थ्य सूचांक र जनताबाट चिकित्सकको सहज पहुँचलाई सकारात्मक रुपमा लिदैँ सम्पूर्ण चिकित्सकहरुको एकता नै अहिलेको प्रमुख आवश्यकता महशुस गर्दै स्वास्थ्यमा आमुल परिवर्तन ल्याउन सक्ने बि।स। २००७ देखि अहिले सम्मको प्राप्ति लाइ थप उचाई दिने सक्ने,अनुभबी,लोकतान्त्रिक र समतामुलक स्वास्थ्य प्रणाली स्थापित गर्न सक्ने नेतृत्वलाई अग्रिम बधाई दिँदै आगामी चिकित्सकीय निर्वाचन लाई ब्यापक सहभागिता मार्फत मजबुत र बहु आयामित बनाउन हामी सबै चिकित्सकहरुको आजको माग हो ।
(डा. सैयद बरिष्ठ चिकित्सक तथा स्वास्थ्य विश्लेषक हुन )