काठमाडौं – लगातारको वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको छ । अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थल कार्यालयले बताएको छ । आन्तरिकतर्फ बिहान केही उडान भए पनि अहिले आंशिकरूपमा प्रतिकूल मौसमका कारण उडानमा प्रभाव पारेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए ।
बिहीबार साँझदेखिको निरन्तर वर्षाले काठमाडौंसहित देशभरका विमानस्थलमा उडान प्रभावित भएको छ । खासगरी उच्च हिमाली भेग तथा पहाडी क्षेत्रका उडान बढी प्रभावित भएका छन् ।
मौसम बदलीसँगै निरन्तरको वर्षाले कम ‘भिजिबिलिटी’ हुँदा आन्तरिक उडानमा समयस्या भएको हो । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपातका कारण पनि उडान प्रभावित भएको बताइएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० तथा अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित २८ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।