logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजको छापामा छापिएका मूख्य खबरहरु


अंकुरण खबर
2.769K
Shares

ऋणको बोझले त्रिशूलीमा त्रिशूलीमा हामफाले

काठमाडौं चन्द्रागिरी–४ थानकोटमा २० वर्षदेखि बस्दै आएका ३५ वर्षीय विनय लामिछाने केही दिनदेखि तनावमा थिए। स्थायी घर मकवानपुर चित्लाङ भएका विनयले शिक्षण पेसा छाडेर अनलाइनमार्फत व्यापार गर्दै आएका थिए। त्यसबाट नाफा नभएपछि ऋण थपियो। ऋणको बोझ थेग्न नसकेपछि उनले बिहीबार गलत बाटो रोजे। त्यही घटनामा उनले पत्नी जमुनालाई गुमाएनन् मात्रै, दुई नाबालक छोरा ६ र २२ महिनाका नदीमा बेपत्ता भए।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–४ बाँदरे घुम्तीनजिकै विनय र उनकी पत्नी जमुनाले एक÷एक छोरा च्यापेर त्रिशूलीमा हामफालेका थिए। त्यसलगत्तै स्थानीय रिसोर्ट र होटल सञ्चालकले विनयलाई जीवितै उद्धार गरे। जमुना मृत अवस्थामा भेटिएकी थिइन्। अन्दाजी २ सय मिटर तलसम्म बगेका दुवै बच्चा शुक्रबारसम्म पनि भेटिएका छैनन्। प्रहरीले शुक्रबार बिहानदेखि खोजी गरेको थियो। बिहीबार साँझदेखि वर्षा भइरहेको र नदी धमिलो रहेकाले उनीहरूको खोजीमा कठिनाइ भएको इलाका प्रहरी गजुरीले जनाएको छ।

लामिछाने दम्पतीको सानो छोरोको पास्नी शुक्रबारका लागि तय भएको थियो। चन्द्रागिरीस्थित घरमा सुतक परेको र शुक्रबारै उत्तम साइत रहेकाले जमुनाको माइतबाट पास्नी गर्ने तयारीका साथ उनीहरू बिहीबार धादिङ हिँडेका थिए। तर, आदमघाट बजार झर्नुपर्नेमा पौने घण्टाको दूरीमा रहेको बेनीघाटस्थित बाँदरे घुम्ती पुगेका थिए। ‘उनीहरू यहाँ आदमघाटमा नझरी सिधै उता पुगेछन्’, जमुनाका दाइ जगत रेग्मीले भने, ‘भान्जाको भात खुवाइको तयारीमा उनीहरूलाई पर्खिरहेका थियौं। अचानक दुःखको खबर सुन्नुपर्‍यो।’

नदी किनारमा छाडेको झोलामा बच्चालाई भात खुवाइमा लगाउने चाँदीको बालासमेत भेटिएको थियो। घुम्तीमा आइपुगेपछि झोलुंगे पुल तरेर गोरखा घ्याल्चोकबाट उनीहरू त्रिशूलीमा हेलिएका थिए। त्यसअघि घुम्तीको होटलमा घरबाटै बोकेको दूध तताएर बच्चालाई खुवाएपछि उनीहरू गोरखातर्फ लागेको होटल सञ्चालक वदनकुमारी श्रेष्ठले सुनाइन्।

आत्महत्याको तयारीसाथ उनीहरूले घर छाडेको खुलेको जिल्ला प्रहरी धादिङका प्रमुख रवीन्द्र रेग्मीले बताए। ‘थानकोटस्थित घरमा सिरानीमुनि रहेको सुसाइड नोट प्रहरीले बरामद गरेको छ’, उनले भने, ‘त्यसमा व्यवसाय गर्दा थुप्रै ऋण लागेको र ऋणको साँवाब्याज तिर्न नसकेर आत्महत्याको बाटो रोजेको उल्लेख छ।’

हिमपातले पुनः सास्ती

हिउँदे वर्षासँगै शुक्रबार हिमाली र पहाडी जिल्लामा हिमपात भएको छ। हिमपातले चिसो बढाउँदा र बाटो अवरुद्ध गर्दा जनजीवन कष्टकर बनेको छ। विद्यालय सञ्चालन तथा टेलिफोन सेवा पनि अवरुद्ध भएको छ।

कर्णाली अञ्चलमा हिमपात र वर्षाले चिसो बढेको छ। चिसोले बालबालिका र बुढाबुढी बढी प्रभावित भएका छन्। जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले निरन्तरको हिमपातले जनजीवन निकै सकसपूर्ण रहेको बताए। हिमपातको समयमा जिल्लावासीलाई बाहिर नजान र लामो यात्रा नगर्न उनले सुझाव दिएका छन्।

जिल्ला प्रशासन कार्यालय जुम्लाले न्यानो कपडा लगाउन, घरबाहिर ननिस्कन र प्राकृतिक तथा मानवीय विपद् जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन सार्वजनिक सूचना गरेको छ।

हिमपातका कारण जुम्लाबाट लामो तथा छोटो दूरीका यातायात सञ्चालन हुन सकेका छैनन्। हिमपातले दैनिक उपभोग्य सामान लिएर सर्वसाधारण आउजाउ गर्न सकेका छैनन्। हुम्ला, डोल्पा, मुगु र जुम्लाका धारामा बरफ जम्ने, पाइप फुट्ने, विद्युतका पोल ढल्ने तथा तार चुँडिने समस्या बढेको छ।

यसरी बले काठमाडौंका चोकचोकमा ट्राफिक बत्ती

 

काठमाडौंका मुख्य चोकमा केही दिनदेखि ट्राफिक बत्ती बल्न थालेका छन् । लामो समयपछि काठमाडौं उपत्यकामा एक्कासि बत्ती बल्न थालेपछि धेरै जना अचम्मित भएका छन् ।

अहिले काठमाडौंका केही चोकमा बत्ती बले पनि सरकारले ट्राफिक व्यवस्थापनका लागि बृहत् कार्ययोजना अघि सारेर काम गरिरहेको छ । सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि मन्त्रिपरिषद्बाट कार्ययोजना पारित गरेर प्रभावकारी नतिजा देखाउने गरी काम थालेको हो ।

गत १५ पुसमा बसेको मन्त्रिपरिषद् बैठकबाट ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी अल्पकालीन कार्ययोजना २०७६’ पारित गरेर अहिले ट्राफिक व्यवस्थापनको काम भइरहेको छ । कार्ययोजनामा कुन काम, कुन निकायले गर्ने र कति समयभित्र गरिसक्ने भन्ने पनि तोकिएको छ ।

कार्ययोजनामा पुस मसान्तभित्र काठमाडौंका नौ स्थानमा ट्राफिक बत्ती सञ्चालन गरिसक्नुपर्ने उल्लेख छ । त्यसै कार्ययोजनालाई कार्यान्वयन गर्दै सडक विभाग र महानगरीय ट्राफिक महाशाखाले हाल ११ स्थानमा बत्ती सञ्चालनमा ल्याएको छ ।

निजगढ विमानस्थल निर्माण गर्न जुरिचसँग मागियो प्रस्ताव


स्विजरल्यान्डको सबैभन्दा ठूलो विमानस्थल सञ्चालन गरिरहेको जुरिच एयरपोर्ट इन्टरनेसनल एजीलाई बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित प्रस्ताव माग गरिएको छ ।

गत असोज ६ गते बसेको लगानी बोर्ड बैठकले जुरिचलाई छनोट गरेबमोजिम कम्पनीसँग प्रस्ताव माग गरिएको हो । बोर्डले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै ४५ दिनभित्र विमानस्थल निर्माण र सञ्चालनका विषयमा जुरिचसँग आवश्यक प्रस्ताव खोजेको हो । प्रस्ताव अध्ययनपछि बोर्डले उपयुक्त लागेमा जुरिचसँग निर्माणको अन्तिम सम्झौता गर्नेछ ।

गत असोजमा लगानी बोर्ड बैठकले निजगढमा विमानस्थल निर्माणका लागि आवेदन दिएका विभिन्न सात देशका कम्पनीमध्ये जुरिचलाई छनोट गरेको थियो । त्यति बेला सार्वजनिक निजी साझेदारी ९पीपीपी० मोडलमा निर्माण गर्ने निर्णयसहित जुरिच छनोट भएको थियो । बोर्डले गत वर्ष चैत १६ मा सम्पन्न लगानी सम्मेलनका क्रममा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई ‘सोकेस’ परियोजनाको रूपमा प्रस्ताव गरेको थियो । बोर्डले त्यति बेला करिब तीन अर्ब डलर लागतको परियोजनाका रूपमा यसलाई प्रस्तुत गरेको थियो ।

लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखी निर्माण प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । उनले त्यसका लागि जुरिचसँग विस्तृत प्रस्ताव माग गरिएको बताए । लगानी बोर्डले शुक्रबार सो प्रस्ताव पठाएको हो ।