कुखुरा पालक कृषकहरुले सधै घाटा व्येहोर्नु परेको भन्दै अहिले देशैभरका कुखुरा पालक साना किसानहरु आन्दोलित भएका छन् । के अवस्था यही हो त ? साना किसान घाटामा जानुको कारण,विद्यमान समस्या र समधानका उपाय के हुन सक्छ जसले कुखुरा पालक साना किसानलाई यो पेशामा गर्वका साथ दीर्घकालसम्म टिकाइराख्न सकियोस् ? अंकुरण खबरसंग कुरा गर्दै राष्ट्रिय कुखुरा पालक किसान संघर्ष समितिका संयोजक बिष्णु खड्का यसो भन्छन् …
कुखुरापालक कृषकमा अहिले देखिएको वास्तविक समस्या के हो ?
वास्तवमै केही वर्ष अघिदेखि कुखुरा पालक साना किसानहरु धेरैनै मारमा परेका छौं । अन्य पेशाबाट यो पेशामा प्रवेश गरि केही गर्छौ भन्ने हेतुका साथ आएकाहरु पनि यो पेशामा टिकीराख्ने अवस्था छैन् । खासगरी दाना उद्योग संघ, ह्याचरी उद्योग संघ र राष्ट्रिय कुखुरा बिक्रि व्यवसायी संघले हामीजस्ता लाखौं साना किसानलाई अन्याय गरेका छन् । हामीलाई सरकारलेनै आवश्यक सहयोग गरेको छैन् । साना किसानहरु सधै घाटाको घाटा जाने दाना उद्योग संघ, ह्याचरी उद्योग संघ एवं राष्ट्रिय कुखुरा बिक्रि व्यवसायी संघ मानाग्य फाइदाको फाइदामा जाने । उनीहरुको कारण हामी विस्थापित हुनुपर्ने अवस्था छ । यही नै हो खासमा अहिलेको समस्या ।
तपाईहरुको माग के हो ?
हाम्रो मूख्य माग भनेकै बजार अनुसार मूल्य समायोजन हुनुपर्छ भन्ने हो ।
नम्बर १.खोरकााटाको व्यवस्था हुनुपर्यो ।
२. दाना र चल्लाको मूल्य अनुसार जीउदो कुखुराको मूख्य निर्धारण गर्नुपर्यो ।
३. न्यूनतम लागत मूल्य भन्दा कम मूल्य निर्धारण गर्नु भएन् ।
४.दीर्घकालिन ढंगले सन्तुलन गर्नको लागि बजारमा आवश्यक्ता अनुरुप मात्र चल्ला उत्पादन गर्नुपर्यो ।
कुखुरापालक साना किसानलाई एकतावद्ध गर्दै लैजाने अभियानमा छौं भन्नुभयो ,कहिले कसरी संगठित गर्दै हुनुहुन्छ ?
अहिले हामी देशैभरका कुखुरा पाल्ने साना किसानलाई एकाकार गरि आफ्ना समस्या सृजना हुनुको कारण र यसबाट के कसरी मुक्ति पाई आफ्ना मागलाई संबोधन गर्न सकिन्छ भन्ने अभियानमा लागेका छौं । हामी यसै दौरानमा धेरै जिल्ला पुग्यौं । त्यहाँका किसानहरुलाई एकतावद्ध पार्दै गएका छौं । बिस्तारै हामी देशैभरका कुखुरा पालक किसानहरु एक हुदैछौं र हुन्छौं । हाम्रा समस्याहरुलाई सदाको लागि अन्त्य गरि यो पेशामा ढुक्क भएर लाग्ने वातवरण वनाउन हाम्रो अभियान जारी छ ।
कुखुरापालक साना किसान सधै घाटामा जानुको कारण के हो ?
हामी सधै घाटामा जानुको कारण भनेकै स्वयं किसान नभै दाना उद्योग संघ, ह्याचरी उद्योग संघ एवं राष्ट्रिय कुखुरा बिक्रि व्यवसायी संघ हो । उनीहरु सधै आफ्नोमात्रै फाइदा हेर्ने जो किसान दुख गर्छ उनीहरुलाई नै शोषण गर्ने प्रवृतिको कारण किसानहरु मारमा परेका छन् । विगत ५ वर्षदेखि कुखुराको मासुको मूल्य लगभग उस्तै छ २२०देखि ३५०,७०को हाराहारीमा छ । तर दाना भने ५ वर्ष अघि दुई हजार बाइस सयमा आउने अहिले ३५,३६ सय पुगेको छ । दानाको मूल्य बढेको बढ्यै कुखुराको मासुको मूल्य नबड्ने । त्यस्तै चल्लाको रेट पनि बढेको छ । यही कारणले किसानले धेरै घाटा बेहोर्नु परेको हो ।
मासुको मूल्य सस्तो हुँदा उपभोक्तालाई त राम्रो भयो नी ?
हो, हामी पनि किसान भए पनि उपभोक्ता पनि हुँ । जुन सुकै बस्तु पनि सस्तो र सुलब पाउनुपर्छ भन्ने हाम्रो पनि माग हो । तर त्यसो भन्दैमा उत्पादन गर्ने मानिसनै सधै घाटा सहेर त बाच्न सक्दैन नी ? ३ वर्ष अघि ८०० रुपैयामा पाइनी खासीको मासु अहिले १२०० पुग्यो तर पनि बिकिरहेकै छ । तर कुखुराको मासुमा बिचौलिया मोटाउने प्रवृतिकै कारण यस्तो भएको हो ।
यस अघि पनि कुखुरा पालक साना किसानहरुको हक अधिकारको लागि आवज उठाउने भन्दै संगठनहरु खोलेको देखिन्छ । के ती संगठनले सशक्त रुपमा काम गर्न नसकेकै कारण आज किसानहरु मारमा परेका हुन् त ?
हो, कुखुरा पालक किसानको हकहीतमा काम गर्ने भन्दै यस अघि पनि केही किसानहरु एकतावद्ध भएको पाइयो । तर त्यसले प्रभावकारी काम गर्न भने सकेनन् । साथीहरु केही समय आउनु भयो त्यसपछि पलायन हुनुभयो । यसले गर्दा किसानका मुद्धा सशक्त रुपमा अगाडी बढ्न सकेन् । तर अब हामी यो पेसालाई फाइदाजनक,राम्रो र सम्मानजनक बनाउन देशैभर एकतावद्ध हुने कुरामा कुनै शंका छैन् ।
कुखुराको मूल्य समायोजन गर्न भन्दै केही समय अघि ह्याचारीले चल्ला नष्ट गरे, यसले तपाईहरुलाई फाइदा पुगेको हो ?
यो विलकुल गलत कुरा हो । उहाँहरुले कुखुराको मासुको मूल्य समायोजन गर्न र किसानहरुको हीतमा भन्दा पनि आफ्नै हीतमा यो काम गर्नु भएको हो । यो अमानवीय काम पनि हो । यसले वर्तमान समस्या समधान गर्न कुनै मतलब राख्दैन् । यो मासूको मूल्य बढाउन भन्दै चल्लाको सटेज गरी चल्लाकै मूल्य बढाउने र किसानलाई अझ समस्या पार्ने षड्यनत्र हो ।
वैज्ञानिक मुल्य निर्धारण गर्न क कसले के गर्नुपर्ला ?
मूल्य निर्धारण सरकारी तबरबाटै गर्नुपर्छ भन्ने हाम्रो माग हो । मन्त्रालय,पशुसेवा विभाग, राष्ट्रिय किसान आयोग लगाएतका सरोकारवाला निकायमा हामी पटक पटक गयौं । यो हाम्रो काम हैन भनेर पन्छिनु भयो । यसको मार किसानले खेप्नु परेको छ ।
सरकारी आकडामा त नेपाल कुखुराको मासुमा आत्मनिर्भर भैसक्यो भनिन्छ नी ?
यो सरासर झुट कुरा हो । सरकार पनि विचौलियाको प्रभावमा परेर यस्तो असत्य कुरा बोलिरहेको छ । खुलेआमा हजारौ किलो मासु सीमा क्षेत्रबाट भित्रिएको छ । दाना बनाउनको लागि आवश्यक पर्ने सामग्री विदेशबाट आयत हुन्छ । कुखुरापालक कृषकहरु दिनदिनै घाटामा गको गै छन् । यो पेशाबाट बिस्थापित हुनुपर्ने अवस्था छ । अनि कसरी देश चै आत्मनिर्भर हुन सक्छ । यहाँ बिचौलियाका कारण गम्भीर षडयन्त्र भैरहेको छ ।
गम्भीर षडयन्त्र भन्नु भयो कस्तो षडयन्त्र भैरहेको छ ?
यहाँ राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाटै केही व्यक्तिहरु कुखुरापालक साना किसान मात्र हैन् नेपालबाट पोल्टी फर्म नै हटाउने षडयन्त्रम। लागि परेका छन् । यसो हुँदा कुखुराको सबै मासु भारतबाटै आउँछ । सायद यही कारण हुन सक्छ कुखुरा पालक किसानलाई बिस्तारै यो पेशाबाट हट्न बाध्य गरिदैछ ।
आगामी दिनको योजना के छ ?
हामी विश्वस्त छौकी केही समय लाग्ला तर कुखुरापालक साना किसानले यो पेशामा दीर्घकालसम्म टिकीरहने अवस्था सृजना हुन्छ । जसले दिन रात नभनि दुख गर्छ उ नै सधै घाटामा जाने अवस्था आउनु हाम्रो मात्र नभएर देशकै लागि दुर्भाग्यको कुरा हो । पहिले पहिले अनपढ ,केही कहीको बिकल्प नभए पछि मात्र कुखुरा पाल्छन् भन्ने थियो । तर अहिले त्यसो छैन् । पढेलेखेका, कुनै क्षेत्रमा सेटल भैसकेका मानिसहरु पनि अहिले कुखुरा पाल्न आर्कषित भएका छन् । यहां भित्र हुने चलखेलका बारेमा सचेत हुदैछन् । हामीले विचौलियाको षड्यन्त्रको भण्डाफोर गर्दै विद्यमान समस्या र समधान सहितको बाटो अप्नाउन सरोकारवालाई सधै खबरदारी गरिरहने छौ । किसान मैत्री वातवरण सृजना गर्दै देशलाई मासुजन्य उत्पादनमा आत्मनिर्भर बनाउन सक्ने माहोल सृजना गुर्ननै हाम्रो मूख्य उद्देश्य रहेको छ ।