मोरङको बुधनगरस्थित नेपाल–भारत एकीकृत भन्सार जाँच बिन्दु ‘आईसीपी’ आजबाट सञ्चालनमा आएको छ ।
भारतीय पक्षले आईसीपी निर्माण सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेपछि आजबाट आईसीपी सञ्चालनको आएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा भिडियो कन्फ्रेन्समार्फत आईसीपीको उद्घाटन गरेका हुन् । प्रधानमन्त्री ओलीले सिंहदरवारबाट र भारतीय प्रधानमन्त्री मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसबाट एकैसाथ स्वीच थिचेर आईसीपीको उद्घाटन गरे ।
आईसीपी सञ्चालनका लागि आवश्यक संरचनाहरु भवन, पार्किङ स्थल, जाँच पोष्टसहितका संरचना निर्माण गरिएको छ । करिब १ सय ७० विघा क्षेत्रफलमा निर्मित आईसीपी निर्माणमा १ अर्ब १५ करोड खर्च भएको भारतीय पक्षले जनाएको छ ।
यसअघि भारतीय सहयोगमा वीरगञ्जको रक्सौलमा पनि एकीकृत जाँचचौकी निर्माण भएको थियो ।