पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेता अग्नि सापकोटामाथि कुनै मुद्दा नरहेको बताएका छन् ।
आज चितवनमा पत्रकारहरुसँग उनले सापकोटामाथि मुद्दा छ भनेर गरिएको प्रचार असत्य भएको बताएका हुन्।
प्रतिनिधिसभाको सभामुख पदमा नेकपाबाट सिफारिस भई मनोनयन दर्ता गरेका सापकोटा विरुद्धमा मुद्दा भएको सन्दर्भमा सोधिएको प्रश्नमा दाहालले भने, ‘मैले पटकपटक भनिरहेको छु, अग्नि सापकोटामाथि कुनै मुद्दा छैन ।’
सिङ्गै संसद्ले उनलाई स्वीकार गरिसकेको छ उनको पक्षमा राष्ट्र एक ठाउँमा उभिइसक्यो, यो विषयलाई अनावश्यकरूपमा प्रचार गर्नु कुनै औचित्य नरहेको बताए ।
दाहाल नवलपरासीमा हुने दुई कार्यक्रममा सहभागी हुन हवाईमार्ग हुँदै चितवन पुगेका छन् ।