logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमसिसीका गलत प्रावधान परिमार्जन गरेर मात्र पारित हुन्छ : गृहमन्त्री थापा


अंकुरण खबर
1.443K
Shares

गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्व बिना मुलुकमा विकास असम्भव भएको बताएका छन् ।

नेपाल सरकार गृहमन्त्रालय र कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित दुई दिने सुरक्षा गोष्ठीमा सहभागी हुन शुक्रबार सुर्खेत पुगेका गृहमन्त्री थापाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सरकारले आपराधिक नियन्त्रणलाई प्राथमिकता राखेको बताए ।

नेपाललाई आपराधिक अखडा बनाउँदै आएका चिनियाँ नागरिकलाई भर्खरै सरकारले पक्राउ गरेर देश निकाला गरेको जनाउँदै उनले भने, ‘हामीले सीमापारिका अपराध नियन्त्रणमा उल्लेखनीय सफलता हात पारेका छौँ ।

सांस्कृतिक परिवर्तनस्वरुप सरकारले छाउपडी प्रथा उन्मूलन अभियान सञ्चालनन गरेको छ । यसबाट पनि समाजमा सकारात्मक प्रभाव पर्दै गएको छ ।’

पछिल्लो समयमा निर्यात बढेको बताएका गृहमन्त्री थापाले सरकारले आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको र विकास निर्माणका काम पनि निर्वाध अघि बढाएको जनाए । सरकारले गरेको लगानी सम्मेलन र चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण नेपालका लागि लाभदायक भएको उनले बताए ।

त्यसैगरी, मिलियन च्यालेन्ज कर्पोरेसन (एमसिसी) राष्ट्रिय हितमा हुनुपर्ने बहस चलिरहेको र सभामुखको घोषणा भएपश्चात् सदनमा प्रस्तुत हुने उनको भनाइ थियो । एमसिसी सदनमा प्रस्तुत भएपछि त्यसमा भएका गलत प्रावधान परिमार्जन गरेर मात्र पारित हुने उनले जिकिर गरे ।

एमसिसी सरकारले सदनबाटै पारित गर्नुपर्ने किन बाध्यता भन्ने विषयमा पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले अमेरिकी सिनेटले पारित गर्ने भएकोले नेपालको सदनबाट पारित गर्नुपर्ने भएको जनाए ।

नेपालको सार्वभौमिकता र स्वतन्त्रतालाई कुण्ठित नहुने गरी यो सदनबाट पारित हुने उनको भनाइ थियो ।

भारतले सार्वजनिक गरेको नयाँ नक्साका कारण उब्जिएको विवाद र त्यसबाट दक्षिणसँग बिग्रेको सम्बन्ध सुधार गर्न कूटनीतिक प्रयास भइरहेको उनले बताए ।