काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पर्टी (नेकपा)का नेता अग्नि सापकोटाविरुद्ध परेको रिटमाथिको सुनुवाई न्यायाधीश हरि फुयाँलले हेर्न नमिल्ने भएको छ ।
सर्वोच्चको न्यायाधीश हुनुअघि नै फुयाँलले कानुन व्यवसायीको हैसियतले सापकोटाकै विरुद्ध बहस गरेका कारण उनले सो मुद्दा हेर्न नमिल्ने सर्वोच्च स्रोतले बताएको छ ।
सापकोटालाई सभामुख नबनाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको सुनुवाई फुयाँलको एकल इजलासमा तोकिएको थियो । अधिवक्ता त्रिपाठीले सापकोटाविरुद्धको रिटको सुनुवाई न्यायाधीश फुयाँलले हेर्न नमिल्ने भएपनि प्रधानन्यायाधीशले अर्को न्यायाधीशको इजलासमा तोक्नु पर्ने बताएका छन् ।
उनले सभामुखको निर्वाचन पनि आजै भएका कारण प्रधानन्यायाधीशले अर्को न्यायाधीशको इजलासमा सो रिटको सुनुवाई तोक्नु पर्ने धारणा राखेका हुन् । उनले भारतमा समेत यस्तो नजीर बसिसकेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेरलाई नै भेटेर छलफल गर्ने बताए ।
यता सभामुखको निर्वाचन पनि आजै रहेको छ । विपक्षी नेपाली कांग्रेसले उम्मेदवारी नदिएकाले एकल उम्मेदवार रहेका सापकोटा सर्वसम्वत हुने निश्चित छ । तर, न्यायाधीश फुयाँलले रिटको सुनुवाई आफुले नैतिकताका आधारमा हेर्न नमिल्ने भन्दै अस्वीकार गरेपछि सो मुद्दामा अन्योल देखिएको छ ।